काठमाडौं । नेपाल उद्योग परिसंघका उपाध्यक्ष भीमप्रसाद घिमिरे ले मुलुकको अर्थतन्त्र अझै जटिल अवस्थामै रहेको भन्दै आगामी मौद्रिक नीतिले निजी क्षेत्रको मनोबल बढाउने गरी लगानीमैत्री व्यवस्था ल्याउनुपर्ने बताएका छन् ।
आइतबार प्रतिनिधिसभाको अर्थ समितिमा आगामी मौद्रिक नीतिबारे भएको छलफलमा उनले न्यून ब्याजदर कायम भए पनि निजी क्षेत्रबाट कर्जाको माग अपेक्षाअनुसार बढ्न नसकेको बताएका हुन् ।
उनका अनुसार नेपाल राष्ट्र बैंकले पछिल्ला वर्षमा अर्थतन्त्रलाई चलायमान बनाउन नीतिगत लचकता अपनाएपछि नीतिगत दर र ब्याजदर ऐतिहासिक रूपमा न्यून स्तरमा पुगेका छन् । तर कर्जा माग कमजोर रहँदा बैंकिङ प्रणालीमा ठूलो परिमाणमा लगानीयोग्य रकम निष्क्रिय रहेको उनले बताए ।
घिमिरेले गत आर्थिक वर्षको तुलनामा निजी क्षेत्रतर्फको कर्जा प्रवाह निक्षेप वृद्धिभन्दा निकै पछाडि परेको उल्लेख गर्दै यसलाई अर्थतन्त्रका लागि चिन्ताको विषय बताए ।
उनले बजारमा माग संकुचित भएकै कारण उद्योग–व्यवसाय पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको, नयाँ कर्मचारी भर्ना, प्रविधिमा लगानी तथा व्यवसाय विस्तारसमेत प्रभावित भएको बताए ।
निजी क्षेत्रले लामो समयदेखि नीतिगत स्थिरता, स्पष्टता र पूर्वानुमानयोग्य वातावरणको माग गर्दै आए पनि पछिल्लो एक वर्षमा सरकार तथा नियामक निकायबाट भएका अनपेक्षित नीतिगत परिवर्तनले लगानीकर्ताको मनोबल कमजोर बनाएको उनको भनाइ छ । राज्यप्रति निजी क्षेत्रको विश्वास कमजोर भएकै कारण कर्जाको माग पनि अपेक्षाअनुसार बढ्न नसकेको उनले बताए ।
घिमिरेले बाह्य क्षेत्रका अधिकांश आर्थिक सूचकहरू निरन्तर सुधारोन्मुख भए पनि आन्तरिक आर्थिक गतिविधि लामो समयदेखि सुस्त रहनु मुलुकको आर्थिक विकासका लागि चुनौतीपूर्ण रहेको चेतावनी दिए ।
उनले हाल स्थायी सरकार बनेको उल्लेख गर्दै निजी क्षेत्रमैत्री र लगानीयोग्य वातावरण निर्माण, रोजगारी सिर्जना तथा राजस्व वृद्धि केन्द्रित नीति अवलम्बन गर्न सरकारसँग आग्रह गरे । आगामी मौद्रिक नीति पनि यही उद्देश्यअनुसार ल्याउनुपर्ने उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया