काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै बुद्ध एयरले पनि आफ्नो फ्युल सरचार्जको शुल्क करिब १५ प्रतिशतले घटाएको छ । इन्धनको मूल्य सस्तिएसँगै आन्तरिक हवाई भाडा समायोजन हुँदा यात्रुहरूलाई केही राहत मिलेको छ ।
बुद्ध एयरले इन्धन बढी खर्च हुने काठमाडौं–धनगढी रुटको भाडामा १ हजार ५६५ रुपैयाँले सस्ताएको छ । त्यस्तै, काठमाडौं-सुर्खेत रुटमा १ हजार २२० रुपैयाँ, माउन्टेन फ्लाइटमा १ हजार २१५ रुपैयाँ, काठमाडौं-नेपालगन्ज उडानमा १ हजार १५५ रुपैयाँ र काठमाडौं-भद्रपुरमा १ हजार ६५ रुपैयाँले भाडा सस्ताएको हो । छोटो दुरीको काठमाडौं-सिमरा रुटमा पनि ३२० रुपैयाँले भाडा घटेको छ ।
यसअघि अमेरिका र इरानको युद्धका कारण हवाई इन्धनको मूल्य अत्यधिक बढ्दा वायुसेवा कम्पनीहरूले पनि गत मे महिनादेखि भाडा महँगो बनाएका थिए । भाडा महँगिएसँगै काठमाडौं-धनगढीको एकतर्फी न्यूनतम भाडा ११ हजार ५६४ रुपैयाँ पुगेको थियो । बुद्ध एयरको यसअघिको धनगढी उडानको फ्युल सरचार्ज शुल्क मात्रै १० हजार ५२० रुपैयाँ रहेकोमा अहिले घटेर ८ हजार ९५५ रुपैयाँ कायम भएको छ ।

हाल काठमाडौं-धनगढी रुटको न्यूनतम भाडा (ई क्लासमा) ९ हजार ९९९ रुपैयाँ ९९ पैसा कायम गरिएको भए पनि महँगो अर्थात् वाई क्लासको भाडा भने यो रुटमा २० हजार ६३६ रुपैयाँ रहेको छ । काठमाडौं-सिमरा उडानको एकतर्फी भाडा ३२० रुपैयाँले घटेर न्यूनतम भाडा ४ हजार ७९८ रुपैयाँ कायम भएको छ ।
नेपाल आयल निगमले इन्धनको भाडा घटाएसँगै बुद्ध एयरले आफ्ना सबै रुटको भाडा सस्तो बनाएको हो । हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक उडानमा यात्रुहरूले केही राहत पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया