टाटा मोटर्सले भारतमा लन्च गर्यो सिएरा ईभी, ५.८ सेकेन्डमै १०० को रफ्तार !

लोकपथ
105
Shares

काठमाडौं । टाटा मोटर्सले ईलेक्ट्रिक गाडी (ईभी) को बजारमा आफ्नो पकड अझ बलियो बनाउँदै बहुप्रतीक्षित इलेक्ट्रिक एसयूभी ‘सियरा ईभी’ भारतीय बजारमा सार्वजनिक गरेको छ । कम्पनीले यसलाई विभिन्न ८ वटा भेरियन्टमा उपलब्ध गराएको छ ।

भारतीय बजारमा यसको सुरुवाती (बेस) भेरियन्टको मूल्य १८ लाख ७० हजार भारु (एक्स–शोरूम) तोकिएको छ भने टप भेरियन्टको मूल्य २५ लाख ९९ हजार भारुसम्म पर्नेछ ।

गाडीमा रहेका प्रविधि, फिचर र बजारका अन्य प्रतिस्पर्धी कारहरूको मूल्यलाई हेर्दा यसलाई निकै आकर्षक र कडा प्रतिस्पर्धी मान्न सकिन्छ ।

टाटाले उक्त गाडीमा ग्राहकको आवश्यकता अनुसार रोज्न मिल्नेगरी दुईवटा ब्याट्री प्याकको विकल्प दिएको छ ।

यसैगरी ६३ किलोवाट आवरको ब्याट्री उक्त गाडीमा जडान गरिएको छ । यो ब्याट्री प्याकले एक पटकको फुल चार्जमा ५८५ किलोमिटरसम्मको एमआइडीसी रेन्ज प्रदान गर्छ ।

यसैगरी गाडीको अर्को भेरियन्टमा ७५ किलोवाट आवरको ब्याट्री समेत रहेको छ । उक्त ब्याट्रीको मद्दतले अझ धेरै यात्रा गर्नेहरूका लागि उपयुक्त यो ठूलो ब्याट्री प्याकले एक पटकको फुल चार्जमा ६६५ किलोमिटरसम्मको उत्कृष्ट रेन्ज दिने दाबी गरिएको छ । यी दुवै ब्याट्रीहरूमा सुरक्षित मानिने एलएफपी प्रविधिको प्रयोग गरिएको छ ।

यो गाडीले १२० किलोवाटको डीसी फास्ट चार्जिङलाई सपोर्ट गर्छ, जसले गर्दा लामो यात्रामा निस्कँदा चार्जको झन्झट हुँदैन । टाटाका अनुसार यो गाडी मात्र २६ मिनेटमा २० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज हुन सक्छ । समय कम भएका बेला ७५ किलोवाटको भेरियन्टलाई मात्र १५ मिनेट चार्ज गर्दा २६३ किमि र ६३ किलोवाटको भेरियन्टलाई सोही समय (१५ मिनेट) चार्ज गर्दा २०३ किमी गुड्न सक्ने रेन्ज थपिन्छ ।

यो गाडी चलाउनका लागि दुईवटा ड्राइभ विकल्पमा उपलब्ध छ । ७५ किलोवाट ब्याट्री भएको टप भेरियन्ट क्वाड ह्वील ड्राइभ ड्युअल मोटर (अल ह्वील ड्राइभ) प्रविधिमा आउँछ, जसले चारैवटा पाङ्ग्रामा शक्ति दिन्छ ।

यसबाहेकका अन्य भेरियन्टहरू भने रियर ह्वील ड्राइभ (पछाडिको पाङ्ग्राले मात्र बल निकाल्ने) अप्सनमा उपलब्ध छन् । अल ह्वील ड्राइभ भेरियन्ट निकै ‘हाई पर्फर्मेन्स’ छ ।

यसको पछाडिको मोटरले १७५ किलोवाट र अगाडिको मोटरले १०३ किलोवाट आवर शक्ति दिन्छ । टर्कको कुरा गर्दा अगाडिको मोटरले ३४० न्युटन मिटर र पछाडिको मोटरले १६४ न्युटन मिटर टर्क पैदा गर्छ ।

टाटाले क्वाड ह्वील ड्राइभका लागि ४,९२२ न्युटन मिटर र रियर ह्वील ड्राइभका लागि २,८५७ न्युटन मिटर ह्वील टर्कको दाबी गरेको छ । शक्तिशाली मोटर भएकै कारण यो कारले मात्र ५.८ सेकेण्डमा ० देखि १०० किमी प्रतिघण्टाको तीव्र गति समात्न सक्छ ।

सियरा ईभीको बाहिरी डिजाइन यसको पारम्परिक आईसीई (इन्धन) संस्करणसँग मिल्दोजुल्दो भए पनि यसमा टाटाको पछिल्लो ईभी स्टाइलिङ झल्किन्छ ।

यसमा अगाडिको खण्ड बन्द गरिएको छ र बाइ–एलईडी अटो प्रोजेक्टेड हेडल्याम्पका साथै पूरै चौडाइमा फैलिएको कनेक्टेड लाइटिङ दिइएको छ ।

गाडीको लुक्सलाई प्रिमियम बनाउन ‘फ्लश डोर ह्याण्डलहरू’ (भित्र लुक्ने ह्यान्डल), बाक्लो क्ल्याडिङ र १८ इन्चको आकर्षक अलोय ह्वीलहरू राखिएका छन्। साथै, पछाडिको ऐनामा वासरसहितको वाइपर र आरामदायी यात्राका लागि मल्टि९लिंक सस्पेन्सन जडान गरिएको छ ।

कम्पनीका अनुसार यसको क्याबिन अर्थात् भित्री भाग निकै फराकिलो र आधुनिक छ । ड्यासबोर्डमा ‘होराइजन भ्यू ट्रिपल स्क्रीन सेटअप’ दिइएको छ, जसमा दुईवटा १२.३ इन्चको इन्फोटेनमेन्ट र को–ड्राइभर (यात्रु) डिस्प्ले छन् भने एउटा १०.२५ इन्चको इन्स्ट्रुमेन्ट क्लस्टर (ड्राइभर डिस्प्ल) रहेको छ ।

यसमा वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्लेका साथै डल्बी एट्मस, सोनिक साउण्डबार र सबवूफरसहितको १२९स्पीकर भएको जेबीएल ब्ल्याक अडियो सिस्टम छ ।

भारतकै पहिलो ईभी रूट प्लानर, मल्टि–कलर इन्टरफेस भएको एचयूडी (हेड्स–अप डिस्प्ल), कारभित्रै भिडियो गेम खेल्न मिल्ने ‘एयरकन्सोल’, ५जी कनेक्टिभिटी र कारभित्रैबाट यूपीआई भुक्तानी गर्न मिल्ने ‘ड्राइभपे इन्टिग्रेसन’ जस्ता अनौठा फिचर छन् ।

टाटाले यो गाडीलाई दैनिक जीवनमा प्रयोग गर्न सजिलो हुने गरी डिजाइन गरेको छ । सामान राख्नका लागि पछाडिको भागमा ६२२ लिटरको ठूलो बुटस्पेस र अगाडिको बोनेटभित्र ५५ लिटरको फ्रन्क (स्टोरेज स्पेस) दिइएको छ ।

उक्त गाडीमा रहेको भीटुएल र भीटुभी चार्जिङ सुविधाले गाडीको ब्याट्रीबाटै अन्य विद्युतीय उपकरणहरू (जस्तै ल्यापटप, इन्डक्शन, क्याम्पिङ लाइट) चलाउन मिल्ने ३.३ किलोवाट क्षमताको भेहिकल टु लोड सुविधा छ । साथै, यसबाट अर्को इलेक्ट्रिक गाडी समेत चार्ज गर्न मिल्ने ५ किलोवाट क्षमताको भेहिकल टु भेहिकल चार्जिङ सुविधा पनि उपलब्ध छ ।

सुरक्षाका मामिलामा पनि सियरा ईभी निकै अगाडि छ । यसमा सुरक्षाका लागि ६ वटा एयरब्याग र सबै पाङ्ग्रामा अल ह्वील डिस्क ब्रेकहरू अनिवार्य गरिएको छ ।

यसको टप भेरियन्टमा गाडीलाई आफैँ नियन्त्रण गर्न मद्दत गर्ने लेभल २ प्लस एडास प्रविधि, अटो पार्क असिस्ट, र गाडीको वरिपरि तथा बोनेटमुनिको भाग स्पष्ट देखिने ५४० डिग्री सराउण्ड भ्यू र ट्रान्सपेरेन्ट बोनेट भ्यू क्यामेरा दिइएको छ ।

यसमा रहेको ‘समन मोड’को मद्दतले चालकले साँघुरो पार्किङ ठाउँहरूमा गाडी बाहिरै बसेर रिमोट जस्तै गरी कारलाई अगाडि वा पछाडि सार्न सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?