काठमाडौं । सरकारले सञ्चालन गरेको स्टार्टअप उद्यम कर्जाका लागि ९६६ वटा प्रतिष्ठानहरुको नाम सिफारिस भएको छ ।
औधोगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप कर्जा प्रवाहसम्बन्धी कार्यक्रमका लागि सार्वजनिक गरेको सूचनाका आधारमा १ हजार २ सय ९८ पटा परियोजनाहरुले आवेदन दिएका थिए । त्यसमध्ये सात वटै प्रदेशका राजधानीमा आवेदन दिएकामध्ये १ हजार १ सय ५६ परियोजनाका प्रस्तावकले प्रस्तुतीकरण गरेका थिए ।
प्रतिष्ठानले आयोजना गरेको प्रस्तुतीकरणका लागि प्रस्तावकहरुले परियोजनाको फोटो, भिडियो, वित्तीय विवरण, प्रस्तुतीकरण, प्रश्नोत्तर तथा अन्य विवरणलाई आधार बनाइ कर्जाका लागि योग्य अन्तिम ९६६ जनाको नाम सार्वजनिक गरिएको हो ।
सिफारिस भएका परियोजनामध्ये सबैभन्दा ठूलो हिस्सा कृषि तथा पशुपालन क्षेत्रले ओगटेको छ । कुल परियोजनामध्ये करिब ६५ प्रतिशत अर्थात् ६३० भन्दा बढी प्रस्ताव कृषि र पशुपालनसँग सम्बन्धित छन् । बाख्रापालन, कुखुरापालन, बङ्गुरपालन, माछापालन, तरकारी खेती, मौरीपालन, नर्सरी तथा कृषि उत्पादनमा आधारित व्यवसायहरू यस समूहमा बढी छन् ।
यसले स्टार्टअप कार्यक्रमलाई सूचना प्रविधि वा डिजिटल व्यवसायभन्दा पनि उत्पादनमुखी र ग्रामीण उद्यमतर्फ बढी उपयोग गरिएको देखाएको छ ।
दोस्रो ठूलो हिस्सा लघु तथा घरेलु उद्योगको रहेको छ। अचार, मसला, बेकरी, दुग्धजन्य पदार्थ प्रशोधन, फर्निचर, जुत्ता–चप्पल, गार्मेन्ट तथा स्थानीय कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योगका करिब १८० परियोजना छनोटमा परेका छन् । यो कुल परियोजनाको करिब १५ देखि २० प्रतिशत हो ।
प्रतिष्ठानले कर्जाका लागि सिफारिस भएका परियोजनाहरुको विवरण र कर्जा रकम राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको केन्द्रीय कार्यालयमा पठाएको छ । उद्यमीलाई पायक पर्ने बैंकको शाखा कार्यालय तोकी प्रतिष्ठानको वेबसाइटमा सूचना प्रकाशन गरिने समेत बताइएको छ ।
साथै सूचना प्रकाशनको मितिले ३ दिनभित्र बैंकको शाखामा सम्पर्क गर्न समेत भनिएको छ । अन्यथा यस वार्षिक बालबसाली कार्यक्रम भएकाले असार मसान्त पश्चात परियोजना प्रस्ताव र सिफारिस स्वतः निष्कृय हुने प्रतिष्ठानले जनाएको छ ।
कर्जाका लागि सिफारिस परियोजना र अन्य सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया