विराटनगरको पाँचतारे होटल ‘शुभ इन्टरनेशनल’ ले आईपीओ जारी गर्ने

मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक नियुक्त

लोकपथ
42
Shares

काठमाडौं । पूर्वी नेपालको पर्यटन तथा आतिथ्य क्षेत्रमा नयाँ पहिचान बनाएको विराटनगरस्थित पाँचतारे होटल ‘शुभ इन्टरनेशनल हस्पिटालिटी लिमिटेड’ ले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।

कम्पनीले आफ्नो जारी पूँजीको २० प्रतिशत शेयर सर्वसाधारणमा जारी गर्न लागेको हो ।

शेयर निष्काशन तथा बिक्री व्यवस्थापनका लागि शुभ इन्टरनेशनलले मुक्तिनाथ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ ।

यससम्बन्धी सम्झौतापत्रमा शुभ इन्टरनेशनल हस्पिटालिटी लिमिटेडका अध्यक्ष कविन श्रेष्ठ र मुक्तिनाथ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कविन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् । उक्त हस्ताक्षर सञ्चालन कार्यक्रममा कम्पनीका प्रतिनिधि विकास चौधरी तथा सञ्चालक प्रशान्त तातेडको समेत उपस्थिति रहेको थियो ।

अन्तर्राष्ट्रिय ब्राण्डसँग साझेदारी, क्यासिनो चलाउने योजना

विराटनगरको धरान रोडमा अवस्थित यो होटल गत वैशाख १७ गतेदेखि सञ्चालनमा आएको हो । भारतको प्रतिष्ठित ‘लेमन ट्रि होटल समूह’ अन्तर्गतको ‘कार्नेसन होटल्स प्राली’ सँगको व्यवस्थापन साझेदारीमा सञ्चालित यो होटल विराटनगरकै पहिलो अन्तर्राष्ट्रिय ब्राण्डको पाँचतारे होटल हो ।

आधुनिक सुविधा र अन्तर्राष्ट्रिय सेवा मापदण्डसहित सञ्चालित यस होटलले व्यावसायिक यात्रु, स्वदेशी तथा विदेशी पर्यटक, ठूला सम्मेलन तथा विवाह जस्ता विशेष कार्यक्रमका लागि विश्वस्तरीय सेवा प्रदान गर्दै आएको छ ।

पूर्वी नेपालको आर्थिक गतिविधि र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने लक्ष्य लिएको यस कम्पनीले भविष्यमा होटलभित्र क्यासिनो समेत सञ्चालन गर्ने योजना बनाएको जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?