काठमाडौं । असार १५ लाई धान दिवस तथा दही चिउरा खाने पर्वका रुपमा हेरिने गरिन्छ । हरेक वर्ष दही चिउरा खाएर असार १५ को दिनलाई मनाउने गरिन्छ । त्यस दिन व्यापारका हिसावले समेत स्थानीय उत्पादन दही र चिउराको व्यवसाय राम्रो हुने गर्दछ ।
यो वर्षको असार १५ मा देशभर करिब ७५ लाख लिटर दही खपत हुन सक्ने प्रक्षेपाण गरिएको छ ।
नेपाल डेरी एसोसिएशनले यो वर्षको असार १५ अर्थात् राष्ट्रिय धान दिवसको अवसरमा करिब १ अर्ब रुपैयाँ बराबरको दही खपत हुने प्रक्षेपण गरेको जनाएको छ ।
एसोसियशनले बिहीबार एक कार्यक्रमको आयोजना गरी त्यसबारे जानकारी दिएको हो । एसोसिएशनका अध्यक्ष प्रल्हाद दाहालले ‘दही (चिउराको स्वाद, स्वदेशी उत्पादनको साथः किसान र उद्योगीको सम्मान, समृद्ध नेपालको अभियान’ भन्ने मूल नाराका साथ असार १५ कार्यक्रम मनाउन लागिएको जानकारी दिए ।
उनले सम्पूर्ण नेपालीलाई स्वदेशी दुग्धजन्य पदार्थको प्रयोग बढाउन र नेपाली किसानको मेहनतलाई प्राथमिकता दिन आह्वान समेत गरेका छन् ।
असार १५ मा हुने दहीको ठूलो खपतले दुग्ध उत्पादक किसान, सहकारी र उद्योगीलाई प्रत्यक्ष आर्थिक लाभ पुर्याउने गर्दछ । यसले राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक योगदान पुर्याए पनि उत्पादन लागतमा वृद्धि, बजार व्यवस्थापन र किसानलाई समयमै भुक्तानी हुनुपर्ने जस्ता चुनौतीहरू अझै विद्यमान रहेको दाहालको भनाइ रहेको छ ।
दहीमा पाइने प्रोटिन, क्याल्सियम र भिटामिन बी–१२ ले पाचन प्रणाली र रोग प्रतिरोधात्मक क्षमता मजबुत बनाउँछ ।
पछिल्लो समय बजारमा कृत्रिम पेय पदार्थको प्रभाव बढे पनि शरीरलाई शीतलता दिने परम्परागत मोही र दहीको व्यावसायिक पुनर्जागरणमा एसोसिएसनले जोड दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया