भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को भरतपुरमा जारी प्रथम महाधिवेशनमा उपसभापति डा.स्वर्णिम वाग्लेले प्रस्तुत गरेको अर्थ–राजनीतिक प्रस्तावप्रति प्रतिनिधिहरुले गम्भीर असन्तुष्टि जनाएका छन् ।
प्रस्तावमाथि पर्याप्त छलफल नगरिएको तथा प्रतिनिधिहरूलाई आफ्ना धारणा राख्ने अवसर नदिइएको भन्दै उनीहरूले आपत्ति जनाएका हुन् ।
महाधिवेशन प्रतिनिधि जनकराज जोशीले बन्दसत्रमा प्रस्तुत गरिएको अर्थ–राजनीतिक दस्तावेजमाथि पर्याप्त बहस नभएको बताए ।
उनका अनुसार उक्त प्रस्तावले संघीय शासन प्रणालीमाथि नै प्रश्न उठाउने खालको विषय समेटेको छ, जसलाई मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकले सहज रूपमा स्वीकार गर्न नसक्ने अवस्था रहेको छ ।
‘उपसभापतिज्यूले प्रस्तुत गर्नुभएको अर्थ–राजनीतिक दस्तावेज कुनै पनि समूहमा छलफल गराइएन । प्रतिनिधिहरूबीच गम्भीर बहस हुन पाएन । प्रस्तावले संघीय शासन प्रणालीमाथि नै आक्रमण गर्ने खालको सन्देश दिएको छ, जुन सुदूरपश्चिम, कर्णाली र मधेसका जनताको हितविपरीत देखिन्छ,‘जोशीले बताए ।
यस्तै, महाधिवेशन प्रतिनिधि धर्मराज ताम्राकारले प्रतिनिधिको संख्या अपेक्षाभन्दा धेरै भएका कारण महाधिवेशनको कार्यतालिका प्रभावित भएको बताए । उनले व्यवस्थापनमा कमजोरी हुँदा निर्वाचन प्रक्रिया समेत समयमै अगाडि बढ्न नसकेको उल्लेख गरे ।
‘निर्वाचन हिजो नै सम्पन्न हुनुपर्ने थियो। तर प्रतिनिधिको संख्या अपेक्षाभन्दा बढी भएपछि प्रक्रिया अगाडि बढ्न सकेन। टाढाबाट आएका प्रतिनिधिलाई व्यक्तिगत समस्या पनि छन्, त्यसैले व्यवस्थापनमा थप ध्यान दिनुपर्ने देखिन्छ,‘ उनले भने।
प्रतिनिधि दयाराम अधिकारीले छोटो अवधिमा पार्टीको संगठन विस्तार भए पनि महाधिवेशनको व्यवस्थापन त्यही अनुपातमा प्रभावकारी हुन नसकेको टिप्पणी गरे । पदाधिकारी चयनमा सहमतिको प्रयास भइरहेकाले निर्वाचन प्रक्रिया लम्बिएको हुनसक्ने उनको अनुमान छ ।
‘चार–पाँच वर्षमै पार्टी ठूलो बनेको छ। तर महाधिवेशन व्यवस्थापनमा केही कमजोरी देखिएका छन् । नेतृत्व तहमा सहमतिबाट पदाधिकारी चयन गर्ने प्रयास भइरहेकाले निर्वाचन प्रक्रिया ढिलो भएको हुन सक्छ,‘ अधिकारीले बताए ।
महाधिवेशन प्रतिनिधि प्रेमा थारुले पनि महाधिवेशन समयमै सम्पन्न हुन नसकेको, प्रतिनिधि तथा उम्मेदवारको अन्तिम सूची समेत सार्वजनिक नभएको भन्दै व्यवस्थापन पक्ष कमजोर देखिएको बताइन् । उनले निर्वाचन प्रक्रिया ढिलाइ हुनुमा नेतृत्व गम्भीर बन्नुपर्ने धारणा व्यक्त गरिन् ।
‘हिजो नै सकिनुपर्ने महाधिवेशन आजसम्म सकिएको छैन। उम्मेदवार र प्रतिनिधिको अन्तिम सूची समेत सार्वजनिक भएको छैन । व्यवस्थापनमा फितलोपना देखिएको छ,‘उनले भनिन् ।
महाधिवेशनस्थलमा भेटिएका अधिकांश प्रतिनिधिहरुले निर्वाचन प्रक्रिया तत्काल सुरु गर्नुपर्ने माग गरेका छन् । साथै बन्दसत्रमा प्रस्तुत अर्थ–राजनीतिक प्रस्तावमाथि थप छलफल र पुनर्विचार आवश्यक रहेको धारणा समेत व्यक्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया