कानुनी प्रक्रियाको पूर्ण पालना हुनुपर्छ, राजनीतिक प्रतिशोध स्वीकार्य छैन : ऐनबहादुर महर

लोकपथ
35
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले मुलुकको अर्थतन्त्रको महत्वपूर्ण क्षेत्र मानिने चिया उद्योगमा देखिएको गम्भीर संकटप्रति सरकारको ध्यानाकर्षण गराएको छ ।

एमाले संसदीय दलका प्रमुख सचेतक ऐनबहादुर महरले सञ्चारकर्मीसँग कुरा गर्दै झापा र इलामका ८३ भन्दा बढी चिया उद्योग बन्द भएको तथा त्यसबाट ६० हजारभन्दा बढी मजदुर बेरोजगार बनेको बताएका छन् । उद्योग बन्द हुँदा राष्ट्रिय उत्पादन र निर्यातमा समेत ठूलो असर परेको उनको भनाइ छ ।

महरले चिया क्षेत्रको समस्या केवल उद्योगसँग मात्र सम्बन्धित नभई राष्ट्रिय अर्थतन्त्रसँग जोडिएको विषय भएकाले सरकारले यसको दीर्घकालीन समाधानका लागि तत्काल कूटनीतिक तथा नीतिगत पहल गर्नुपर्ने बताए ।

‘चिया क्षेत्रको यो समस्या एक गम्भीर राष्ट्रिय समस्या हो। यसको दीर्घकालीन समाधानका लागि सरकारले अविलम्ब कूटनीतिक पहल गर्नुपर्छ भन्ने हाम्रो ठहर छ,‘उनले भने ।

त्यसैगरी, पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम र कानुनी कारबाहीका सन्दर्भमा सरकारले विधिसम्मत प्रक्रिया (ड्यू प्रोसेस अफ ल) पालना गर्नुपर्नेमा पनि एमालेले जोड दिएको छ ।

महरले कुनै पनि राजनीतिक दलका नेता वा कार्यकर्ताले गल्ती गरेको प्रमाणित भए कानुनी दायरामा ल्याउनुपर्ने तर राजनीतिक प्रतिशोधको भावना राखेर कारबाही गर्न नहुने बताए । उनले एमालेका नेता–कार्यकर्तामाथि पनि कानुनी कारबाही आवश्यक भए गर्न सकिने तर त्यस क्रममा कानुनी प्रक्रियाको पूर्ण पालना हुनुपर्ने धारणा राखे ।

‘एमालेका नेता–कार्यकर्ताले पनि कमी–कमजोरी गरेका छन् भने पक्राउ गरियोस्, तर कानुनी प्रक्रियाको पूर्ण पालना हुनुपर्छ। सरकारले आफ्नालाई काखा र अरूलाई पाखा गर्ने नीति लिनु हुँदैन। राज्य र सरकार सबैको साझा हुनुपर्छ,‘महरले भने ।

विगतका निर्वाचन तथा राजनीतिक घटनाक्रमलाई स्मरण गराउँदै उनले सरकारलाई राजनीतिक प्रतिशोधको बाटो नअपनाउन आग्रह गरे । विधिको शासन, समान व्यवहार र निष्पक्ष कानुनी प्रक्रियाको सुनिश्चितता गर्न सरकार अग्रसर हुनुपर्ने एमालेको धारणा रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?