रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री शाहका सचिवालयका तीन जनाको उम्मेदवारी

लोकपथ
651
Shares

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिमा सो पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयका तीन जनाको उम्मेदवारी परेको छ ।

प्रधानमन्त्री कार्यालयका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंका अनुसार प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार अशिम शाह, नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल र युवा नेत्री तथा प्रधानमन्त्रीका स्वकीय उपसचिव प्रकृति ढकालले केन्द्रीय समितिको सदस्य पदमा उम्मेदवारी दिएका हुन् ।

राजनीतिक सल्लाहकार शाहले खुला मुस्लिम समावेशीतर्फबाट उम्मेदवारी दिएका छन् । शाहलाई तत्कालीन काठमाडौँ महानगरपालिकाका प्रमुख वालेन्द्र शाह र रास्वपाबीच राजनीतिक सहकार्य तथा एकीकरणको वातावरण निर्माण गर्ने प्रमुख सूत्रधारका रुपमा हेरिन्छ । उनले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा सबैभन्दा पहिले सांसद पदबाट राजीनामा दिएका थिए ।

यसैगरी, प्रधानमन्त्री वालेन्द्र शाहका नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकालले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को खुलातर्फको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएको प्रेस संयोजक बजगाइँले जानकारी दिए ।

उनी काठमाडौं महानगरपालिकामा पनि सूचना प्रविधि तथा सुशासनसम्बन्धी सल्लाहकारका रूपमा शाहसँगै कार्यरत थिए ।

प्रेस सहजकर्ता बजगाईंका अनुसार प्रधानमन्त्रीका स्वकीय उपसचिव प्रकृति ढकालले खुला महिलातर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गरेकी छिन् । सार्वजनिक स्वास्थ्य, सामाजिक सुरक्षा, नीति अनुसन्धान, युवा नेतृत्व विकास तथा गैरनाफामूलक संस्थाको व्यवस्थापनमा लामो समयदेखि सक्रिय रहँदै आएकी ढकाललाई रास्वपाभित्र नीतिगत विषयमा दक्ष युवा नेतृत्वका रूपमा चिनिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?