पासपोर्ट खरिद प्रकरण : महानिर्देशक अर्यालसहित १८ विरुद्ध मुद्दा दायर, १० अर्बभन्दा बढीको बिगो दाबी

लोकपथ
301
Shares

काठमाडौं । पासपोर्ट खरिद र छपाई प्रकरणमा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले सोमबार १६ जना व्यक्ति र दुई कम्पनीलाई विपक्षी बनाउँदै विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित १० जना कर्मचारीलाई समेत विपक्षी बनाएर कुल १० अर्ब १३ करोड ४ लाख ६१ हजार ४७७ रुपैयाँ ०१ पैसा बिगो कायम गरी मुद्दा दायर गरेको हो ।

विशेष अदालतका सूचना अधिकारी पार्वती हितानका अनुसार अख्तियारले विभागका महानिर्देशक तीर्थराज अर्याल, निर्देशक सुनिल कुमार केसी, लेखा अधिकृत तुलसी आचार्य, तत्कालीन निर्देशक तथा हाल परराष्ट्र मन्त्रालयमा कार्यरत उपसचिव शत्रुधन शर्मा पौडेल, तत्कालीन निर्देशक रवीन्द्र राजभण्डारी, कानुनका उपसचिव राजाराम दाहाल, उपसचिवहरू भेष प्रसाद भुर्तेल, पुष्कर नेपाल, अधिकृत सोमेश थापा र कम्प्युटर इन्जिनियर विपिन प्रसाईँ रहेका छन् ।

त्यसै गरी पासपोर्टको आपूर्ति र छपाइमा संलग्न कम्पनीका नेपालस्थित सहजकर्ताहरू सिद्धार्थ थापा र मुनिन्द्रराज मल्लविरुद्ध समेत मुद्दा दायर भएको छ ।

त्यसै गरी अख्तियारले पासपोर्टको छपाई र प्रिन्टमा संलग्न रहेका दुई वटा जर्मन कम्पनीहरू मुइलबउर आइडी सर्भिसेज र भेरिडोस कम्पनीविरुद्ध समेत सार्वजनिक सम्पत्तिको गैरकानुनी लाभ हानी पुर्‍याई भ्रष्टाचार गरेको कसुरमा मुद्दा दायर गरेको हो ।

अख्तियारले पूर्व परराष्ट्र मन्त्री आरजू राणासँग समेत बयान लिने प्रयास गरेको भए पनि यो अभियोगमा उनीमाथि मुद्दा दायर भएको छैन ।

विशेष अदालतका सूचना अधिकारी हितानले लोकपथसँग भनिन्, ‘बाहिर आरजूविरुद्ध समेत मुद्दा आएको भनेर मैले पनि सुने, तर अभियोग पत्र हेर्दा कहीँ पनि उहाँको नाम देखिएको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?