एमालेसँग तत्काल एकता सम्भव छैन, हल्लाको पछि नलागौँ : माधवकुमार नेपाल

लोकपथ
0
Shares
फाइल तस्बिर

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले) सँग तत्काल पार्टी एकताको कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन् ।

शनिबार पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै नेता नेपालले एमालेसँग एकता हुन लागेको भन्ने हल्लाको पछि नलाग्न कार्यकर्ता तथा बुद्धिजीवीलाई आग्रह गरे ।

उनले बाहिर आएका चर्चाहरूमा भ्रमित नहुन आग्रह गर्दै वर्तमान अवस्थामा एमालेसँग एकता सम्भव नरहेको बताए ।

उनले अहिलेको मुख्य कार्यभार देशभक्त, क्रान्तिकारी, लोकतान्त्रिक तथा गणतन्त्र पक्षधर शक्तिहरूलाई एकताबद्ध गर्नु रहेको उल्लेख गरे । राष्ट्रहित, जनहित र गणतन्त्रको रक्षा गर्ने जिम्मेवारी आफ्नो पार्टीको काँधमा रहेको उनको भनाइ थियो ।

नेता नेपालले परिवर्तन र रूपान्तरणको पक्षमा स्पष्ट दृष्टिकोणका साथ अघि बढ्नुपर्नेमा जोड दिँदै ‘वैज्ञानिक समाजवाद’ र ‘नेपाली विशेषताको समाजवाद’ लाई पार्टीको मार्गदर्शक अवधारणाका रूपमा प्रस्तुत गरे । नेपाल बहुजातीय, बहुभाषिक र विविध संस्कृतियुक्त देश भएकाले त्यसअनुसारको समाजवाद आवश्यक रहेको उनको तर्क थियो ।

उनले नेपालको गौरवशाली इतिहास, संस्कृति र राष्ट्रिय स्वाभिमानको संरक्षण गर्दै सबै परिवर्तनकारी शक्तिहरूलाई एकै ठाउँमा ल्याएर मुलुकको रूपान्तरणमा लाग्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

साथै, नेपाल कहिल्यै पनि उपनिवेश नबनेको उल्लेख गर्दै आफ्ना पुर्खाको योगदानप्रति गौरव गर्नुपर्ने धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?