काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी त्याग गर्ने घोषणा गरेका पूर्वमहामन्त्री धवलशमशेर राणालाई उक्त निर्णय पुनर्विचार गरी पार्टीमै रहन आग्रह गरेका छन् ।
शनिबार पार्टीको केन्द्रीय समितिको बैठकका निर्णय सार्वजनिक गर्दै अध्यक्ष लिङ्देनले राणासहित केही नेताले पार्टी छाड्ने विषयमा आफूलाई कुनै औपचारिक जानकारी प्राप्त नभएको बताए ।
उनले पार्टीका नेताहरूले जीवनको यस महत्वपूर्ण चरणमा आएर यस्तो निर्णय नगर्ने विश्वास व्यक्त गर्दै पार्टी परित्याग गर्नु गम्भीर भूल हुने धारणा राखे ।
उनले भने, ‘केन्द्रीय समितिको बैठकमा यस विषयमा कुनै जानकारी प्राप्त भएन। अहिलेसम्म हाम्रा साथीहरूले पनि त्यस्तो कुरा सुन्नुभएको छैन । उहाँहरूले जीवनको यो अवस्थामा आएर यस्तो गल्ती गर्नुहुन्न भन्ने मेरो विश्वास छ। यदि यस्तो निर्णय गर्नुभयो भने त्यो उहाँहरूको जीवनकै अन्तिम गल्ती सावित हुनेछ ।’
पूर्वमहामन्त्री राणाले भने पार्टी त्याग गरी नयाँ राजनीतिक दल गठन गर्ने घोषणा गरिसकेका छन् । यसबारे प्रतिक्रिया दिँदै अध्यक्ष लिङ्देनले विगतमा पनि यस्ता गतिविधि हुने गरेको उल्लेख गरे । तर अहिले भने नेताहरूले पार्टीको हितविपरीत कदम नचाल्नेमा आफू विश्वस्त रहेको बताए ।
अध्यक्ष लिङ्देनले पार्टी नेतृत्वबारे बहस गर्ने समय अहिले नभएको पनि स्पष्ट पारे । उनले निर्धारित समयमा महाधिवेशन सम्पन्न भएपछि साथीहरूसँग छलफल, परामर्श र सहमतिका आधारमा नेतृत्वसम्बन्धी निष्कर्ष निकालिने बताए ।
उनका अनुसार आगामी महाधिवेशनमा पार्टी नेतृत्वलाई अझ प्रभावकारी, सक्षम र समयअनुकूल बनाउने विषयमा सबैको ध्यान केन्द्रित हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया