जनताका मुद्दामा लड्ने शक्तिलाई मात्रै जनमत प्राप्त हुन्छ : वर्षमान पुन

लोकपथ
35
Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले जनताका मुद्दामा खरो उत्रिने र अन्याय तथा विसंगतिका विरुद्ध लड्ने राजनीतिक शक्तिलाई मात्रै जनमत प्राप्त हुने बताएका छन् ।

शनिबार पेरिसडाँडामा आयोजित एक कार्यक्रममा बोल्दै नेता पुनले नेपाली जनताको मनोविज्ञान सधैँ बेथिति, शोषण र अन्यायविरुद्ध संघर्ष गर्ने शक्तिको पक्षमा रहेको बताएका हुन् ।

उनले पछिल्लो निर्वाचनमा नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्राप्त गरेको जनमतलाई त्यसको उदाहरणका रूपमा प्रस्तुत गरे।

देशमा अझै पनि गरिबी, शोषण, अन्याय र विभेद कायम रहेको उल्लेख गर्दै पुनले राष्ट्रियताको विषयमा सरकारको भूमिकामाथि समेत प्रश्न उठाए । भारतसँगको सीमा विवादका विषयमा देशभक्त नागरिक सडकमा उत्रिनुपर्ने र राष्ट्रहितका पक्षमा लड्ने शक्तिहरू नै वर्तमान सरकारको विकल्प बन्न सक्ने उनको भनाइ थियो ।

पुनले पछिल्लो समय ट्रेड युनियनहरू खारेज गर्ने तयारी भइरहेको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले युनियन गठन गर्ने अधिकार संवैधानिक अधिकार भएको उल्लेख गर्दै यस्ता अधिकारमाथि हस्तक्षेप हुनु अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रहार भएको बताए ।

उनले जनताले सधैँ संघर्षशील शक्तिलाई विश्वास गर्ने गरेको उल्लेख गर्दै राष्ट्रियता, लोकतन्त्र र जनताको पक्षमा उभिएर समाजवादी क्रान्तिको आधार तयार पार्न आफूहरू प्रतिबद्ध रहेको बताए ।

वर्तमान सरकारको कार्यशैलीप्रति टिप्पणी गर्दै पुनले संसदलाई बेवास्ता गर्ने र बहुमत हुँदाहुँदै पनि अध्यादेशमार्फत शासन सञ्चालन गर्न खोजिएको आरोप लगाए । सरकार गठन भएको १०० दिन नपुगेकाले पूर्ण मूल्याङ्कन गर्ने समय नभए पनि राष्ट्रघात र जनघातका विषयमा मौन बस्न नसकिने उनको भनाइ थियो ।

कार्यक्रममा उनले पार्टीलाई वैचारिक, राजनीतिक तथा संगठनात्मक रूपमा अझ सशक्त बनाउँदै आगामी राजनीतिक यात्रामा अघि बढ्नुपर्ने आवश्यकता औँल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?