काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता राजेन्द्र पाण्डेले सरकारको नीति तथा बजेटले गरिब, सुकुमबासी तथा मध्यमवर्गीय नागरिकको हितभन्दा सम्पन्न वर्गलाई प्राथमिकता दिएको आरोप लगाएका छन् ।
शनिबार अखिल नेपाल किसान महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै पाण्डेले सरकारले ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने उपभोक्तामाथि मूल्य अभिवृद्धि कर (भ्याट) लगाएर आम नागरिकमाथि अतिरिक्त आर्थिक भार थपेको बताए ।
शिक्षा र स्वास्थ्य क्षेत्रमा समेत कर वृद्धि गरिएको भन्दै उनले यसको प्रत्यक्ष असर सर्वसाधारणमा पर्ने जिकिर गरे ।
उनले बजेट उच्च आय भएका तथा आर्थिक रूपमा सबल वर्गलाई लाभ पुग्ने गरी ल्याइएको टिप्पणी गर्दै लाखौँ सुकुम्वासी परिवारका माग सम्बोधन गर्न सरकार असफल भएको आरोप लगाए । उनका अनुसार करिब १३ लाख परिवारले स्थायी बसोबासको माग गर्दै निवेदन दिएका भए पनि राज्यले उनीहरूलाई प्राथमिकतामा राख्न सकेको छैन ।
सुकुम्वासीमाथि डोजर प्रयोग गरेर विस्थापित गरिएको र उनीहरूलाई राखिएको होल्डिङ सेन्टरको अवस्था पनि स्पष्ट नभएको भन्दै उनले सरकारको व्यवस्थापनप्रति प्रश्न उठाए ।
पाण्डेले नेपालको वर्तमान भूराजनीतिक अवस्थालाई पनि चुनौतीपूर्ण रहेको बताए । नेपालले भारत, चीन र अमेरिकाजस्ता शक्तिराष्ट्रसँग सन्तुलित सम्बन्ध कायम राख्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै उनले कूटनीतिक जटिलता बढ्दै गएको धारणा राखे ।
देश आर्थिक, सामाजिक र भूराजनीतिक रूपमा कठिन परिस्थितितर्फ उन्मुख रहेको दाबी गर्दै उनले आगामी दिनमा चुनौतीहरू अझ बढ्न सक्ने चेतावनी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया