कांग्रेसभित्र असन्तुष्टि छ तर व्यवस्थापन गर्न सकिन्छ : प्रदीप पौडेल

लोकपथ
49
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीभित्र व्यक्ति व्यवस्थापनको समस्या लामो समयदेखि रहँदै आएको भन्दै त्यसको समाधानका लागि स्पष्ट विधि आवश्यक रहेको बताएका छन् ।

संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सदस्यता अद्यावधिक पार्टीको नियमित प्रक्रिया भएकाले त्यसलाई अनावश्यक रूपमा विवादको विषय बनाउन नहुने बताएका हुन् ।

महाधिवेशन नजिकिँदै जाँदा पार्टीभित्र विभिन्न खालका विवाद र असन्तुष्टि देखिनु स्वाभाविक रहेको उल्लेख गर्दै उनले कांग्रेसजस्तो पुरानो पार्टीमा व्यक्ति व्यवस्थापनको विषय जटिल बन्ने गरेको बताए ।

उनले भने, ‘पार्टीभित्र व्यक्ति व्यवस्थापनको समस्या पहिलेदेखि नै छ। हिजो पनि थियो, आज पनि छ र भोलि पनि हुन सक्छ । त्यसैले व्यक्ति व्यवस्थापनको सवालमा स्पष्ट विधि ल्याउन आवश्यक छ ।’

कांग्रेसभित्र देखिएका असन्तुष्टिहरू समाधान गर्न धेरै कठिन नपर्ने उनको भनाइ छ । केही नेताहरूमा असन्तुष्टि रहेको स्वीकार गर्दै उनले त्यसलाई संवाद र छलफलमार्फत व्यवस्थापन गर्ने प्रयास भइरहेको बताए ।

‘यो पहिलो पटक भएको होइन । यसअघि पनि यस्ता असन्तुष्टिहरू देखिएका थिए । अहिले पनि हामी छलफल गरिरहेका छौँ र सम्भवतः समझदारीपूर्ण ढंगले अगाडि बढ्नेछ,‘उनले भने ।

महामन्त्री पौडेलले नेपाली कांग्रेसको १५औँ महाधिवेशन पार्टीभित्रको एकतालाई कायम राख्दै सम्पन्न हुने विश्वाससमेत व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?