ईभी जाँचपास कैफियत : रसुवा भन्सार प्रमुखसहित १३ कर्मचारी निलम्बित, ५ आयतकर्तालाई कारबाही सिफारिस

भन्सारमा सवारीसाधन नआइपुग्दै कागजातका आधारमा गरिएको थियो जाँचपास

लोकपथ
0
Shares

काठमाडौं । रसुवा भन्सार कार्यालयका तत्कालीन प्रमुखसहित १३ जना कर्मचारीहरु निलम्बनमा परेका छन् ।

भन्सार कार्यालयमा सवारीसाधन भौतिक रुपमा नआइपुग्दै कागजातका आधारमा मात्रै विद्युतीय सवारीसाधन (ईभी) जाँचपास गरेको भेटिएपछि कर्मचारीहरु निलम्बनमा परेका हुन् ।

बजेटको पूर्वसन्ध्यामा चीनसँग सीमा जोडिएका नाकाहरुबाट ठूलो संख्यामा विद्युतीय सवारी भित्रिएपछि सरकारको चौतर्फी आलोचना र भन्सारका कर्मचारीको नियतमाथि समेत प्रश्न उठेको थियो ।

भन्सार कार्यालयबाट भित्रिएका ईभी र त्यसको जाँचपासको विषयमा प्रश्न उठेपछि यसबारे यथार्थ बुझ्न भन्सार विभागको निर्देशनमा रसुवा भन्सार र मुस्ताङ भन्सारको अनुगमनका लागि अर्थ मन्त्रालय, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका प्रतिनिधिहरुसहितको टोली खटाइएको थियो । उक्त टोलीले दिएको प्रतिवेदनका आधारमा कर्मचारीहरुमाथि कारबाही अघि बढाइएको हो ।

‘रसुवा भन्सार कार्यालयबाट विद्युतीय सवारीसाधनको भन्सार जाँचपास गर्ने क्रममा कर्मचारीहरुबाट प्रयाप्त सावधानी तथा पदीय जिम्मेवारीपूरा गरेको नदेखिएकाले अनुगमन टोलीको प्रतिवेदनले औँल्याएको छ । अनुगमन टोलीले प्रज्ञापनपत्र, कार्यालयको अभिलेख लगायत विषयमा स्थलगत अध्ययन गर्दा कतिपय सवारीसाधनहरु भन्सारमा भौतिक रुपमा आई नपुग्दै कागजातका आधारमा मात्र जाँचपास गरिएको फेला परेको छ,’ भन्सार विभागले भनेको छ, ‘यसरी कानुनी प्रक्रिया पूरा नगरेको देखिएकोले अर्थ मन्त्रालय र भन्सार विभागले रसुवा भन्सार कार्यालयका यस कार्यमा संलग्न तत्कालीन कार्यालयप्रमुखसहित १३ जना कर्मचारीहरुलाई तत्काल निलम्बन गरी कारबाही प्रक्रिया अघि बढाइएको छ ।’
यसैगरी विभागले ५ वटा विद्युतीय सवारीसाधन आयातकर्ता कम्पनीलाई समेत कारबाही प्रक्रिया अघि बढाएको छ ।

जसमा लक्ष्मी ई–मोबिलिटी प्रालि, साइमेक्स इंक प्रालि, पूजा इन्टरनेशनल प्रालि, पूजा कन्स्ट्रक्सन प्रालि लगायतका कम्पनीहरु रहेका छन् ।

प्रतिवेदन अनुसार मुस्ताङ भन्सारबाट जेठ १२ र १३ गते ९ वटा प्रज्ञापनपत्र मार्फत जाँचपास भएका ६४९ वटा विद्युतीय गाडीहरू नियमानुसार नै नेपाल भित्रिएको पाइएको छ । टोलीले सीसीटीभी फुटेज र अभिलेख अध्ययन गर्दा ती गाडी जेठ १४ गतेभित्रै नेपाल प्रवेश गरिसकेको पुष्टि भएको छ ।

त्यतिमात्र होइन उक्त कार्यमा संलग्न एजेन्ट नम्बर २४८, एजेन्ट नम्बर ८३३, र एजेन्ट नम्बर ४७८ लगायतका भन्सार जाँचपास प्रतिनिधिहरूलाई पनि प्रचलित भन्सार कानून बमोजिम कारबाही गर्न रसुवा भन्सार कार्यालयलाई निर्देशन दिइएको विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?