विश्वकपको दोस्रो खेल गुमाउँदै नेयमार, चोटका कारण मैदानबाहिर

लोकपथ
217
Shares

काठमाडौं । ब्राजिलका स्टार फरवार्ड नेयमार डा.सिल्भा सान्तोस जुनियर विश्वकप फुटबलअन्तर्गत ब्राजिलको दोस्रो खेलमा सहभागी नहुने भएका छन् ।

समूह ‘सी’ अन्तर्गत हाइटीविरुद्ध हुने खेल नेयमारले पिंडुलाको चोटका कारण गुमाउने भएका हुन्। ब्राजिलियन फुटबल महासंघ (सीबीएफ) ले बिहीबार विज्ञप्ति जारी गर्दै नेयमार चोटका कारण टोलीबाट बाहिर रहने पुष्टि गरेको हो ।

सीबीएफका अनुसार नेयमार आफ्नो स्वास्थ्य सुधारको अन्तिम प्रक्रियालाई तीव्र बनाउन न्युजर्सीमै रहनेछन् । उनले टोली बसेको होटलमै उपलब्ध सुविधाको प्रयोग गर्दै उपचार र पुनःस्थापनाको प्रक्रिया अघि बढाउनेछन् ।

३४ वर्षीय नेयमार ब्राजिलका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी हुन् । उनले राष्ट्रिय टोलीका लागि ७९ गोल गरेका छन् भने महान् खेलाडी पेलेको ७७ गोलको कीर्तिमान तोडिसकेका छन् ।

दाहिने खुट्टाको चोटको उपचार गराइरहेका नेयमार राष्ट्रिय टोलीमा फर्किएपछि पनि अन्य खेलाडीसँग पूर्ण प्रशिक्षणमा सहभागी हुन सकेका थिएनन् । उनको चोटको अवस्थाबारे जानकारी लिन सोमबार केही परीक्षणसमेत गरिएको थियो ।

नेयमार गत मे १७ मा सान्तोष क्लबबाट खेल्ने क्रममा घाइते भएका थिए । चौथो विश्वकप खेल्ने तयारीमा रहेका उनलाई यसपटक ब्राजिलको टोलीमा समावेश गर्ने वा नगर्ने विषयमा लामो समयदेखि चर्चा हुँदै आएको थियो ।

यसैबीच, पाँच पटकको विश्वकप विजेता ब्राजिलले प्रतियोगिताको पहिलो खेलमा मोरक्कोसँग १–१ गोलको बराबरी खेलेको थियो । ब्राजिलले अब समूह चरणको दोस्रो खेलमा हाइटीको सामना गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?