केन्द्रीय समिति बैठकअघि राप्रपामा विवाद, असन्तुष्ट पक्षले बहिष्कारको चेतावनी

लोकपथ
133
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समितिको बैठक शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ । धुम्बाराहीस्थित सूर्य क्याटरिङमा बिहान साढे ११ बजेदेखि बैठक बस्न लागेको हो ।

बैठक सुरु हुनुअघि नै सहभागिताको विषयलाई लिएर पार्टीभित्र विवाद चर्किएको छ । अध्यक्ष राजेन्द्र लिङ्देन ले विधानविपरीत केन्द्रीय समिति बाहिरका व्यक्तिहरूलाई बैठकमा आमन्त्रण गरेको आरोप लगाउँदै पार्टीभित्रको एक असन्तुष्ट समूहले बैठक बहिष्कार गर्ने तयारी गरेको छ ।

राप्रपाले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा उम्मेदवार बनेका सबै व्यक्तिहरू तथा एकता प्रक्रियामार्फत आएका कमल थापा पक्षका ६५ जनालाई समेत बैठकमा सहभागी गराउने तयारी गरेपछि विवाद बढेको हो ।

असन्तुष्ट पक्षले केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यबाहेक अन्य व्यक्तिलाई सहभागी गराउनु पार्टीको स्थापित पद्धति र संगठनात्मक मर्यादाविपरीत हुने भन्दै आपत्ति जनाएको छ ।

यस विषयमा बिहीबार बसेको कार्यसम्पादन समितिको बैठकमा उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्री कुन्ती शाही, सदस्य अर्जुन राई तथा पूर्वअध्यक्षहरू कमल थापा, प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर जबरा ले अध्यक्ष लिङ्देनको ध्यानाकर्षण गराएका थिए । उनीहरूले केन्द्रीय सदस्यबाहेक अन्यलाई बैठकमा सहभागी नगराउनुपर्ने अडान राखेका थिए ।

केन्द्रीय सदस्य जनकराज पाठक ले अनधिकृत व्यक्तिहरूलाई बैठकमा सहभागी गराउने तयारी भएकाले आफूहरू बैठकमा सहभागी नहुने बताएका छन् । उनले यसबारे अध्यक्ष, महामन्त्री र सचिवालय प्रमुखलाई जानकारी गराइसकेको बताए ।

असन्तुष्ट नेताहरूले अध्यक्ष लिङ्देनले आलोचनाबाट बच्न आफ्ना पक्षका व्यक्तिहरू तथा चुनावमा पराजित उम्मेदवारहरूलाई बैठकमा सहभागी गराउन खोजेको आरोप लगाएका छन् । उनीहरूका अनुसार गत निर्वाचनमा जुम्लाबाट ज्ञानेन्द्र शाही विजयी भए पनि अधिकांश स्थानमा राप्रपाका उम्मेदवारहरूको जमानत जफत भएको थियो, जसका कारण नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठ्ने अवस्था बनेको छ ।

यसैबीच, बिहीबार बसेको कार्यसम्पादन समितिको बैठकले पार्टीको आगामी महाधिवेशनको कार्यतालिका पारित गरेको छ । निर्णयअनुसार राप्रपाको महाधिवेशन आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा आयोजना गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?