काठमाडौं । विद्युतीय मेसिन रिडेबल पासपोर्ट (ई–पासपोर्ट) खरिद प्रक्रियामा भएको भनिएको अनियमिततासम्बन्धी अनुसन्धानका क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जर्मनीका दुई कम्पनीका प्रतिनिधिलाई बयानका लागि बोलाएको छ ।
आयोगले बिहीबार सार्वजनिक सूचना जारी गर्दै जर्मन कम्पनी मुलबाउर र भेरिडोस का आधिकारिक प्रतिनिधिलाई अनुसन्धानमा सहयोग गर्न उपस्थित हुन आग्रह गरेको हो । सूचनामा सम्बन्धित कम्पनीका प्रतिनिधिले आफ्नो नाम, ठेगाना तथा परिचय खुलाएर आयोगसमक्ष बयान दिन उपस्थित हुनुपर्ने उल्लेख गरिएको छ ।
विद्युतीय राहदानी खरिद प्रक्रियामा अनियमितता भएको आशंकामा अख्तियारले यसअघि राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनील केसी लाई असार २ गते पक्राउ गरेको थियो । उनीहरूलाई ई–पासपोर्ट सम्बन्धी खरिद प्रक्रियामा अनियमितता तथा भ्रष्टाचारजन्य कार्यमा संलग्न भएको आरोपमा नियन्त्रणमा लिइएको हो ।
अख्तियारले उक्त खरिद प्रक्रियासम्बन्धी थप तथ्य र प्रमाण संकलन गर्ने क्रममा विदेशी कम्पनीका प्रतिनिधिसमेतलाई अनुसन्धानको दायरामा ल्याएको जनाएको छ । आयोगले प्रकरणबारे अनुसन्धान जारी रहेको र आवश्यकताअनुसार थप व्यक्तिसँग पनि बयान लिइने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया