विवाहको प्रलोभन देखाएर युवतीसँग १५ लाख ठगी, बहिनी भनिएकी युवती ठगकै श्रीमती !

लोकपथ
560
Shares

काठमाडौं । विवाह गरेर अमेरिका लैजाने प्रलोभन देखाएर एक २२ वर्षीय महिलालाई १५ लाख ठगी भएको छ । आफू अमेरिकामै बस्ने अविवाहित व्यक्ति भएको भन्दै एक व्यक्तिले महिलासँग १५ लाख रुपैयाँ ठगी गरेका हुन् ।

आफूलाई प्रिन्स तामाङ बताउने एक व्यक्तिले सुरुमा आफू अमेरिकामै बस्ने गरेको र नेपाली समेत बोल्न नजान्ने भन्दै टिकटक आइडीबाट एक महिलालाई फलो गरेका थिए । टिकटक आइडी @princetamang431 बाट कुराकानी सुरु गरेका ती व्यक्तिले आफू अमेरिकामै जन्मे हुर्केको र नेपाली समेत बोल्न नआउने बताएका थिए ।

कुराकानीकै क्रममा आफूले नेपाली युवतीसँग विवाह गर्न लागेको भन्दै नेपालमा बहिनी नाता पर्ने सरगम तामाङ समेत रहेको भनी परिचय दिएका थिए । कुराकानीकै क्रममा आफू नेपाली युवतीलाई विवाह गरी अमेरिका लैजान लागेको भन्दै युवतीलाई विवाह गरेर अमेरिका लैजाने आश्वासन समेत दिएका थिए ।

ती युवकले नेपालीमा कुराकानी नगरी अङ्ग्रेजीमा मात्रै कुराकानी गर्ने गरेका थिए भने नेपालीमा कुरा गर्न परेमा नेपालमा रहेकी बहिनी सरगम तामाङसँग कुराकानी गर्न भन्दै उनको ह्वाट्सएप नम्बर समेत दिएका थिए ।

अमेरिका बस्ने युवकले ह्वाट्सएप नम्बर दिएपछि पीडित युवतीले ती महिलासँग ह्वाट्सएपमै कुराकानी गर्दै अमेरिका जानका लागि कागजात बनाउने देखि अन्य कार्यका लागि भन्दै पटक पटक रकम माग गरी १५ लाख १० हजार ५०० रुपैयाँ लगेकी थिइन् ।

तर लामो समय बितेपछि ती युवक र युवतीसमेत सम्पर्कविहीन भएपछि पीडित युवतीले आफूमाथि ठगी भएको भन्दै साइबर ब्युरोमा उजुरी दिएकी थिइन् ।

त्यसपछि सक्रिय बनेको साइबर ब्युरोले प्राविधिक विश्लेषण गरी ती व्यक्तिको खोजी गर्दा उनी माछापोखरी क्षेत्रमा रहेको देखिएपछि ब्युरोले उनको खोजी गर्‍यो । त्यसपछि असार ३ गते प्रिन्स तामाङ उपनाम गरेका व्यक्ति र उनकी बहिनी भनिएकी व्यक्तिलाई पनि ब्युरोको टोलीले पक्राउ गर्‍यो ।

प्रिन्स तामाङ बताउने व्यक्ति थिए सञ्जीव नेपाली र बहिनी भनिएकी युवती सञ्जीवकी श्रीमती !

जब साइबर ब्युरोको टोलीले आफूलाई अमेरिकामा रहेका प्रिन्स तामाङ भनी चिनाउने व्यक्तिलाई पक्राउ गर्‍यो, उनी प्रिन्स तामाङ नभएर अर्कै व्यक्ति भएको खुल्यो । आफूलाई अमेरिकामै जन्मे हुर्केको र नेपाली समेत बोल्न नआउने भन्ने व्यक्ति थिए स्याङ्जाको भिरकोट नगरपालिका वडा नम्बर २ लुगाडाँडाका ३९ वर्षीय सञ्जीव नेपाली । यिनै सञ्जीव नेपालीको ठगीको योजनामा यो सब गरिएको थियो ।

अनि आफूलाई प्रिन्स तामाङको बहिनी भनी सरगम तामाङको नामबाट चिनाउने महिला थिइन् काभ्रेको मण्डनदेउपुर नगरपालिका १२ स्थायी ठेगाना रहेकी अनुष्का भन्ने सरिता पराजुली । सरिता वास्तवमा सञ्जीव नेपालीकी श्रीमती रहेको समेत खुलेको छ ।

ब्युरोले मंगलबार पक्राउ गरी बुधवार काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिई अनुसन्धान सुरु गरेको छ ।

प्रहरीले गरेको प्रारम्भिक सोधपुछमा ठगी गर्नकै लागि यो नाटक गरेको आरोपीहरूले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?