प्रहरीको स्वेच्छाचारिता रोकियोस् : हर्क साम्पाङ

लोकपथ
63
Shares

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले प्रहरीको पछिल्लो कार्यशैलीप्रति गम्भीर आपत्ति जनाउँदै सरकारको ध्यानाकर्षण गराएका छन् ।

सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै उनले राष्ट्रिय स्वाभिमान, नागरिक सुरक्षा र लोकतान्त्रिक अभ्यासमाथि प्रश्न उठाएका हुन् ।

सांसद राईले प्रधानमन्त्री बालेन्द्र साहले संसदमा दिएको भनिएको विवादित अभिव्यक्तिलाई सभामुखले संसदको रेकर्डबाट हटाउनुपर्ने माग दोहोर्याए । उनले उक्त अभिव्यक्तिप्रति प्रधानमन्त्रीले स्वयं सच्याउनुपर्ने आवश्यकता औँल्याउँदै सभामुखको निर्णयको प्रतीक्षा भइरहेको बताए ।

त्यसैगरी, सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) द्वारा भएको भनिएको अतिक्रमण र नेपाली नागरिकमाथि गरिएको धाकधम्कीको विरोध गर्ने युवाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको घटनाप्रति उनले आपत्ति जनाए ।

माईतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शनमा सहभागी अजय सोदारी र बिरजन बिकलाई पक्राउ गरी झुट्टा मुद्दा लगाउने प्रयास भइरहेको भन्दै उनले गृहमन्त्रीको ध्यानाकर्षण गराए । उनले उनीहरूलाई तत्काल रिहा गर्न पनि माग गरे ।

सांसद राईले प्रहरीको कार्यशैलीप्रति थप प्रश्न उठाउँदै विद्यार्थीका मोबाइल खोस्ने, नष्ट गर्ने तथा एक विपन्न टेम्पो चालकको सवारी साधन भीरबाट खसालिएको घटनाको आलोचना गरे । उनले यस्ता कार्यलाई अमानवीय भन्दै दोषीमाथि कारबाही हुनुपर्ने बताए ।

उनले भने, ‘विद्यार्थीका मोबाइल खोसेर पानीमा डुबाउने र गरिबको टेम्पो भीरबाट गुल्ट्याउने जस्ता अमानवीय कार्य गर्नेहरूलाई कारबाही हुनुपर्छ ।’

साथै, पीडित टेम्पो चालकलाई क्षतिपूर्ति दिनुपर्ने माग पनि उनले गरे । सुरक्षाकर्मीबाटै सर्वसाधारणको घरको छानामा ढुंगा प्रहार हुनेजस्ता गतिविधि बढेको भन्दै उनले नागरिकले प्रहरी देख्दा सुरक्षा होइन त्रास महसुस गर्ने अवस्था लोकतन्त्रका लागि गम्भीर चुनौती भएको टिप्पणी गरे ।

अन्त्यमा, उनले सरकारलाई प्रहरीलाई जनमैत्री बनाउँदै नागरिकले सुरक्षा र शान्तिको अनुभूति गर्ने वातावरण सुनिश्चित गर्न जोडदार आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?