पशुपति क्षेत्रको संस्कृति र परम्परामा आँच पुग्ने निर्णय सच्याउन गगन थापाको माग

लोकपथ
0
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पशुपति क्षेत्रको धर्म, संस्कृति, परम्परा तथा स्थानीय संवेदनशीलतामा प्रतिकूल असर पर्ने गरी सरकारले गरेका निर्णयहरू तत्काल सच्याउन माग गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले स्थानीय मौलिकता र सांस्कृतिक संवेदनशीलतालाई बेवास्ता गरेर गरिएका निर्णयहरूले दीर्घकालीन समस्या निम्त्याउन सक्ने बताएका हुन् ।

उनले पशुपति क्षेत्रका जात्रा, पर्व, ऐतिहासिक बस्ती तथा परम्परागत संरचनाको आफ्नै विशिष्ट महत्व रहेको उल्लेख गर्दै सिंहदरबारबाट गरिएका निर्णयहरूले स्थानीय वास्तविकता र संवेदनशीलतालाई पर्याप्त रूपमा सम्बोधन गर्न नसकेको बताए ।

पशुपति क्षेत्रमा कार्यरत जनशक्तिलाई श्रेणीविहीन बनाउने सरकारी निर्णयप्रति लक्षित गर्दै थापाले यसले परम्परागत जिम्मेवारी निर्वाह गर्दै आएका परिवारहरूको जीवनशैली र सांस्कृतिक निरन्तरतामा असर पुग्ने चिन्ता व्यक्त गरे । उनका अनुसार यस्ता निर्णयहरूले अन्ततः सांस्कृतिक विरासत नै संकटमा पार्न सक्छन् ।

लोकतान्त्रिक व्यवस्थामा सरकारले आफ्ना निर्णयलाई प्रतिष्ठाको विषय बनाउन नहुने भन्दै थापाले स्थानीय बासिन्दासँग भएका पुराना वाचा र सम्झौता कार्यान्वयन नगरी बस्ती खाली गराउने प्रयास न्यायसंगत नहुने टिप्पणी गरे ।

उनले साना देखिने यस्ता विषयहरूले भविष्यमा समाजमा भुसको आगो जस्तै द्वन्द्व फैलाउन सक्ने चेतावनी दिँदै सम्बन्धित मन्त्रालयलाई निर्णय पुनर्विचार गर्न आग्रह गरे । पछिल्लो समय सरकारले गरेका केही निर्णयका कारण पशुपति क्षेत्रको धर्म, संस्कृति, परम्परा तथा जात्रा–पर्व प्रभावित हुने चिन्ता स्थानीय समुदाय र जनप्रतिनिधिहरूमा देखिएको उनले बताए ।

थापाले पशुपति क्षेत्रका मठ–मन्दिर, बस्ती, जात्रा–पर्व र परम्परासँग जोडिएका हरेक स्थान तथा समुदायको आफ्नै इतिहास र महत्व रहेको उल्लेख गर्दै बाहिरबाट सामान्य देखिने निर्णयले समेत दीर्घकालीन रूपमा सांस्कृतिक पहिचानमा गम्भीर असर पार्न सक्ने बताए। विशेषगरी परम्परागत जिम्मेवारी निर्वाह गर्दै आएका व्यक्ति तथा समुदाय कमजोर बने भविष्यमा ती परम्परा जोगाउन कठिन हुने उनको भनाइ थियो ।

स्थानीय वडा तथा जनप्रतिनिधिहरूले यस विषयमा निरन्तर आवाज उठाउँदै आएको स्मरण गराउँदै थापाले आफूहरूले पनि सम्बन्धित निकायमा दबाब दिने प्रतिबद्धता जनाए । नागरिकबाट प्रश्न उठेपछि निर्णय सच्याउनु वा परिवर्तन गर्नु कमजोरी नभई जिम्मेवार शासनको उदाहरण हुने उनको भनाइ थियो ।

सरकारले आफ्ना कमजोरी सच्याउनेमा अझै विश्वास रहेको उल्लेख गर्दै थापाले तत्कालका लागि सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउन चाहेको बताए । साथै, पशुपति क्षेत्रसँग सम्बन्धित पछिल्ला निर्णयहरूको पुनरावलोकन गर्न सरकारसँग आग्रह गर्दै उनले समयमै संवेदनशीलता नबुझिए भविष्यमा असन्तोष र द्वन्द्वको अवस्था सिर्जना हुन सक्ने चेतावनी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?