पुराना दलको विकल्पमा दुईवटा स्पष्ट वैचारिक ‘वैकल्पिक शक्ति’ आवश्यक छ : डा. बाबुराम भट्टराई

लोकपथ
42
Shares
फाइल तस्बिर

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पुराना राजनीतिक दलहरू आफ्नै कमजोरीका कारण पतनको दिशातर्फ अग्रसर रहेको भन्दै देशमा नयाँ वैकल्पिक राजनीतिक शक्तिहरूको उदय अपरिहार्य भएको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित नयाँ शक्ति स्थापना दिवस कार्यक्रममा बोल्दै उनले अर्थशास्त्रमा रहेको ‘रचनात्मक विनाश’को सिद्धान्तजस्तै नयाँ प्रणाली र सोचको विकासका लागि पुराना संरचना र शक्तिहरूको अन्त्य आवश्यक हुने धारणा व्यक्त गरे ।

भट्टराईले नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी ले विज्ञान, प्रविधि र मध्यम वर्गको आकांक्षालाई बुझेर अघि बढेकाले जनसमर्थन प्राप्त गर्न सफल भएको बताए । तर उनले उक्त दलको वैचारिक झुकाव मध्य–दक्षिणपन्थी रहेको टिप्पणी पनि गरे ।

उनले नेपालको ठूलो जनसंख्या अझै गरिबी, अशिक्षा, स्वास्थ्य सेवाको अभाव र सम्मानजनक रोजगारीबाट वञ्चित रहेको उल्लेख गर्दै यी विषयलाई बेवास्ता गर्न नहुनेमा जोड दिए ।

भट्टराईका अनुसार देशमा कम्तीमा दुई प्रमुख वैकल्पिक राजनीतिक धार आवश्यक छन् । एउटा मध्य–दक्षिणपन्थी र अर्को प्रगतिशील मध्य–वामपन्थी शक्ति हुनुपर्ने उनको भनाइ थियो । राष्ट्रिय हितका विषयमा सहकार्य र नीतिगत विषयमा स्वस्थ प्रतिस्पर्धा भए मात्र देशले सही दिशा लिन सक्ने उनले बताए ।

नयाँ राजनीतिक शक्तिलाई सुरुमै आलोचना गर्नुभन्दा काम गर्ने अवसर दिनुपर्ने उल्लेख गर्दै उनले नेपालको जातीय, क्षेत्रीय र सामाजिक विविधतासहितको अवस्थालाई केवल बजार व्यवस्थामाथि छाड्न नसकिने बताए । समावेशी र विकासमुखी परिवर्तनका लागि राज्यको सक्रिय भूमिका आवश्यक रहेको उनको धारणा थियो ।

आफ्नो राजनीतिक यात्राका क्रममा ‘नयाँ शक्ति’को पहिचान स्थापित भइसकेपछि पटक–पटक पार्टीको नाम परिवर्तन गर्दा जनतामा अन्योल सिर्जना भएको स्वीकार गर्दै उनले त्यसलाई आफ्नै कमजोरीका रूपमा स्वीकार गरे ।

भट्टराईले पुराना राजनीतिक शक्तिसँग अब देशलाई नयाँ दिशा दिने स्पष्ट योजना र क्षमता नरहेको दाबी गर्दै वैकल्पिक शक्तिहरूको उदय नै वर्तमान राजनीतिक संकटको समाधान हुने बताए । विगतका बहुमत तथा दुईतिहाइ बहुमतका सरकारहरूले समेत अपेक्षित परिणाम दिन नसकेको उदाहरण प्रस्तुत गर्दै उनले अब नयाँ राजनीतिक विकल्प आवश्यक भएको धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?