काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त (सीके) राउतले पछिल्लो समय मुलुकमा स्थापित हुन खोजेका वैकल्पिक राजनीतिक शक्तिहरू विचारशून्य र तर्कहीन बन्दै गएको बताएका छन् ।
शनिबार काठमाडौंमा नयाँ शक्तिको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले नयाँ पुस्तामा विचार र सिद्धान्तभन्दा ‘सेलेब्रिटी’ प्रवृत्ति तथा विध्वंशप्रतिको आकर्षण बढ्दै गएको टिप्पणी गरे ।
राजनीतिमा विचार, सिद्धान्त र नैतिकताको प्रधानता हुनुपर्नेमा जोड दिँदै राउतले वर्तमान अवस्थालाई ‘विचारशून्य युग’को संज्ञा दिए । सामाजिक सञ्जालमा हुने गालीगलौज र तर्कहीन बहसले लोकतान्त्रिक मूल्य र संस्कृतिलाई कमजोर बनाइरहेको उनको भनाइ थियो ।
उनले संसदीय व्यवस्था र लोकतान्त्रिक मूल्यमान्यतामा ह्रास आएको उल्लेख गर्दै प्रधानमन्त्री संसदमा उपस्थित भएर जवाफ दिनुपर्ने व्यवस्था भए पनि त्यसलाई अनावश्यक ठान्ने प्रवृत्ति बढ्नु दुःखद रहेको बताए ।
अध्यक्ष राउतले पछिल्लो समय राज्यले अवलम्बन गरेको ‘डोजर संस्कृति’को समेत आलोचना गरे । भौतिक संरचना भत्काउनुलाई विकास र शक्तिको प्रदर्शनका रूपमा बुझ्नु गलत भएको उनको भनाइ थियो ।
‘जमिन वा संरचना अवैध भए राज्यले राष्ट्रियकरण गर्न सक्छ, तर अर्बौं रुपैयाँ बराबरको सम्पत्ति डोजर लगाएर नष्ट गर्नु राष्ट्रिय सम्पत्तिको विनाश हो,’ उनले भने ।
पुरानो पुस्ताका नेताहरूले दशकौँ जेलनेल भोग्दै जनताको सेवामा समर्पित भए पनि नयाँ पुस्ताले त्यसको मूल्याङ्कन गर्न छाडेको उनको टिप्पणी थियो । उनले अहिले जनतासँग प्रत्यक्ष सम्पर्कभन्दा टाढैबाट लोकप्रियता कमाउने प्रवृत्तिप्रति आकर्षण बढेको बताए ।
‘यो डार्क साइकोलोजी र एल्गोरिदमको खेल हो । हामीजस्ता भुईंतहमा काम गर्ने नेताहरू यहीँ चुकेका छौँ,‘राउतले भने ।
आफूहरूले प्रविधि र नयाँ सञ्चार शैलीलाई समयमै आत्मसात गर्न नसक्दा पछाडि परेको स्वीकार गर्दै उनले अब नयाँ पुस्ताको चाहनाअनुसार आफूलाई परिमार्जन गर्नुपर्ने आवश्यकता रहेको बताए ।
विचार र सिद्धान्तविहीन राजनीतिले देशलाई सही दिशामा लैजान नसक्ने भन्दै राउतले राजनीतिक दलहरूभित्र गम्भीर आत्मसमीक्षा आवश्यक रहेको धारणा व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया