‘सशस्त्र प्रहरी सेतीको गहिरो खोचदेखि त्रिशुलीको उर्लँदो भेलमा पसेर नागरिकको उद्धारमा प्रतिवद्ध छ’

लोकपथ
728
Shares

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) नारायण दत्त पौडेलले विपद्को कठिन घडीमा नागरिकको भरोसाको रुपमा सशस्त्र प्रहरी बल नेपाललाई स्थापित गराउन विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारको योगदान महत्वपूर्ण रहेको बताएका छन् ।

बिहीबार सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा नवनिर्मित स्विमिङ्गपुलको उद्घाटनको क्रममा महानिरीक्षक पौडेलले सो कुरा बताएका हुन् ।

सो कार्यक्रममा बोल्दै महानिरीक्षक पौडेलले शिक्षालयले स्थापना कालदेखि नै विपद् जोखिम न्यूनिकरण, उद्धार, प्रतिकार्य तथा मानवीय सेवाका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको बताए ।

उनले देशका विभिन्न भागमा आईपर्ने प्राकृतिक तथा मानव सिर्जित विपद्का घटनामा विपद् व्यवस्थापन तालिम शिक्षालयबाट प्रशिक्षित जनशक्तिले साहस, समर्पण र व्यावसायिक दक्षताको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको बताउनुहुँदै नवनिर्मित स्विमिङ्गपुलले गोताखोरको थप क्षमता बृद्धि गर्न तथा जल उद्धार सम्बन्धी तालिमलाई अझ प्रभावकारी, व्यावसायिक र नतिजामुखी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

‘कुनै पनि सुरक्षा संगठनमा वास्तविक जनशक्ति केवल इच्छाशक्ति र समर्पणले मात्र तयार हुँदैन, त्यसका लागि गुणस्तरीय तालिम, आधुनिक पूर्वाधार तथा समयानुकुल प्रविधियुक्त उपकरणहरुको समेत उत्तिकै आवश्यकता रहन्छ । राष्ट्रको गौरवको रुपमा रहेका गोताखोर र उच्च भू–भाग तथा हिमाली उद्धारक लगायत अति जोखिमयुक्त उद्धार कार्यमा खटिने सशस्त्र प्रहरी कर्मचारीहरुलाई जोखिम भत्ता उपलब्ध गराउन गृहमन्त्रालयबाट समेत सकारात्मक ढंगले अघि बढेको छ,’ उनले भने ।

उनले सशस्त्र प्रहरी बल नेपालका गोताखोर तथा विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरु सेती नदिको गहिरो खोचदेखि त्रिशुली नदिको उर्लदो भेल र जोखिमपूर्ण जलक्षेत्रमा आफ्नो जीवनको समेत प्रवाह नगरी नागरिकको जीवन रक्षाको लागि प्रदर्शन गरेको साहस र समर्पणले सम्पूर्ण राष्ट्रलाई गौरवान्वित बनाएको चर्चा गर्दै यस्ता दक्ष जनशक्ति तथा समर्पित उद्धारकर्मी उत्पादन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा शिक्षालयप्रति हार्दिक आभार प्रकट गरे ।

कार्यक्रममा गोरखा जिल्लाको पालुङटार नगरपालिका प्रमुख बिवश चिन्तनले सशस्त्र प्रहरी बल नेपालका गोताखोर तथा विपद् व्यवस्थापन तालिम प्राप्त उद्धारकहरुलाई घटना भएको आधा घण्टाभित्र पुग्ने गरी देशको विभिन्न ठाउँमा राख्नुपर्नेमा जोड दिँदै त्यस्ता उद्धार कार्यमा स्थानीय निकाय र सशस्त्र प्रहरी बीचको सहकार्य अत्यन्तै जरुरी रहेको बताए ।

त्यस्तै चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जल उत्पन्न तथा नदिजन्य प्रकोपको जोखिममा परेका नागरिकको उद्धारको लागि पूर्व अभ्यास गर्ने ठाउँ निर्माण हुनु अत्यन्तै सकारात्मक रहेको बताए ।

राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले सशस्त्र प्रहरी बल नेपाल र वाणिज्य बैंकको सहकार्यले सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग प्रदान गर्दै आएको हुँदा यस विपद् व्यवस्थापनको क्षेत्रमा दक्ष जनशक्ति उत्पादनमा समेत सहयोग पुग्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?