काठमाडौं । नेपालमा सफल मानिएको राइड सेयरिङ प्लेटफर्म इन्ड्राइभले सञ्चालनको ५ वर्ष पूरा गरेको छ ।
नेपालमा पाँच वर्षको यात्रालाई स्मरणीय बनाउने उद्देश्यका साथ कम्पनीले ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ (ड्राइभ विदआउट प्रेसर) नामक नयाँ ब्राण्ड क्याम्पेन सार्वजनिक गरेको छ ।
चालकहरूको अनुभव, स्वतन्त्रता र रोजाइलाई केन्द्रमा राखेर तयार गरिएको उक्त क्याम्पेनले डिजिटल यातायात क्षेत्रमा कार्यरत चालकहरूको वास्तविक जीवन, चुनौती र अवसरलाई उजागर गर्ने विश्वास लिएको कम्पनीले जनाएको छ ।
जुनदेखि अगस्ट २०२६ सम्म सञ्चालन हुने क्याम्पेनले चालकहरूले कहिले काम गर्ने ?, कुन यात्रा स्वीकार गर्ने र आफ्नो समय तथा आम्दानी कसरी व्यवस्थापन गर्ने ? लगायतका विषयमा उनीहरूसँग रहेको निर्णय क्षमतालाई मुख्य सन्देशका रूपमा प्रस्तुत गरिनेछ ।
नेपालमा सेवा सुरु गरेदेखि इनड्राइभले यात्रु र चालकबीच एपमार्फत प्रत्यक्ष रूपमा भाडादर तय गर्न सकिने ‘पियर–टु–पियर’ मोडेललाई प्रवद्र्धन गर्दै आएको छ । कम्पनीका अनुसार यस प्रणालीले चालकहरूलाई यात्राको छनोट, कार्य समय निर्धारण तथा आम्दानी व्यवस्थापनमा थप नियन्त्रण र स्वायत्तता प्रदान गरेको छ, जसले उनीहरूको व्यावसायिक सन्तुष्टि र दीर्घकालीन सहभागितामा सकारात्मक प्रभाव पारेको छ ।
आफूहरुले सुरुवातदेखि नै चालकहरुले दीर्घकालसम्म विश्वास गर्नसक्ने पारदर्शी र निष्पक्ष प्लेटफर्म निर्माणमा विशेष ध्यान दिएको इनड्राइभ नेपालकी सिनियर ड्राइभर अपरेसन स्पेसलिस्ट सुनिता जिमी राईले बताइन् ।
‘पछिल्ला पाँच वर्षमा हामीले चालकहरूले दीर्घकालसम्म विश्वास गर्न सक्ने, पारदर्शी र निष्पक्ष प्लेटफर्म निर्माणमा विशेष ध्यान केन्द्रित गरेका छौँ, राईको भनाइ रहेको छ, ‘हामीले निरन्तर रूपमा चालकहरूको आवश्यकतालाई प्राथमिकतामा राख्दै उनीहरूलाई आफ्नो व्यक्तिगत र व्यावसायिक जीवनबीच सन्तुलन कायम गर्न सहयोग पुग्ने वातावरण निर्माण गर्ने प्रयास गरेका छौं । लचकता, स्वतन्त्रता र पारदर्शिताका यी मूल्यहरूले नै नेपालमा हाम्रो यात्रालाई मार्गनिर्देशन गरिरहेका छन् ।’
कम्पनीका अनुसार ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ भन्ने सन्देशले नेपालको डिजिटल यातायात तथा गिग–अर्थतन्त्रभित्र काम गर्ने श्रमिकहरूको कार्य अवस्था, आय सुरक्षालगायत विषयमा भइरहेको समकालीन बहसलाई समेत प्रतिबिम्बित गर्दछ । पछिल्ला वर्षहरूमा राइड–हेलिङ सेवा हजारौँ नेपालीका लागि आयआर्जनको महत्त्वपूर्ण स्रोतका रूपमा स्थापित हुँदै गएको छ ।
इनड्राइभले नेपाललाई आफ्नो दक्षिण एशियाली सञ्चालनका लागि रणनीतिक रूपमा महत्त्वपूर्ण बजारका रूपमा लिँदै आएको जनाएको छ । कम्पनीले स्थानीय आवश्यकता र बजारको प्रकृतिअनुसार सेवामा सुधार गर्दै दिगो विकास, आर्थिक सशक्तीकरण तथा समुदायसँगको सहकार्यलाई प्राथमिकतामा राखेको बताएको छ ।
यसैगरी पाँचौँ वार्षिकोत्सवको अवसरमा कम्पनीले ‘होमकमिङ मिटर’ क्याम्पेनसमेत सुरु गर्ने घोषणा गरेको छ ।
उक्त पहलअन्तर्गत वैदेशिक रोजगारीका लागि विदेश पुगेका तर पछि स्वदेश फर्किएर प्लेटफर्म–आधारित अवसरमार्फत नेपालमै आफ्नो जीवन र जीविकोपार्जन पुनः स्थापित गरेका नेपाली चालकहरूको प्रेरणादायी यात्रा सार्वजनिक गरिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया