प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीको स्पष्टीकरण, संसदमा के भने ?

लोकपथ
77
Shares

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले सीमासम्बन्धी दिएको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेशन’सँग सम्बन्धित रहेको स्पष्टिकरण दिएका छन् ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै मन्त्री खनालले यस्तो स्पष्टिकरण दिएका हुन् ।

उनले नेपाल–भारत सीमाका विभिन्न स्थानमा ‘क्रस बोर्डर अकुपेशन’ (सीमापार उपयोग–उपभोग) सम्बन्धी धेरै ठाउँमा विवाद रहेको पनि बताए ।

उनले सरकारले सीमा क्षेत्रको यथार्थ अवस्था पहिचान गर्न नेपाल र भारतका संयन्त्रमार्फत म्यापिङको काम गरिरहेको समेत जानकारी दिए ।

उनले सीमासम्बन्धी विस्तृत विवरण नक्साङ्कन सम्पन्न भएपछि सार्वजनिक हुने समेत बताए ।

उनले सीमा क्षेत्रमा दुवै पक्षले आ–आफ्नो उपभोगमा रहेको भूभागमाथि दाबी गर्दै आएको बताउँदै प्रधानमन्त्रीले संसदमा व्यक्त गरेको भनाइ पनि यही प्राविधिक यथार्थ र ‘क्रस बोर्डर अकुपेशन’को सन्दर्भसँग सम्बन्धित रहेको दोहोर्‍याए ।

उनले भने, ‘नेपाल–भारतको सीमानाकामा क्रस बोर्डर अकुपेशनसहित के कति ठाउँमा समस्या वा विवाद रहेको छ भन्ने विषयमा संयन्त्रहरुले म्यापिङको कार्यहरु गरिरहेका छन् । यस विषयमा विस्तृत विवरण पछि प्राप्त हुनेछ । प्राविधिक समितिको अध्ययनले कतिपय स्थानहरु हाल नेपालको उपयोग र उपभोगमा रहेको जग्गा भारततर्फ पर्नसक्ने र हाल भारतको उपभोग र उपयोगको जग्गा नेपालतर्फ पर्न सक्ने देखाएको छ । आ–आफ्नो उपभोगमा रहेको दाबी दु्वै पक्षले गर्ने गरेका छन् । सम्माननीय प्रधानमन्त्रीज्युले संसदमा राख्नुभएको भनाईको सन्दर्भ यही प्राविधिक यथार्थ यही क्रस बोर्डर अकुपेशनसँग जोडिएको छ । यसमा यसमा मुल प्रश्न भनेको सीमा विवाद कसरी निरुपण गर्ने भन्ने नै हो । नेपाल–भारत सीमा द्विपक्षीय विषय हो । र नेपाल तथा भारतबीच रहेको घनिष्ट सम्बन्धको मर्म भावनाअनुरुप ऐतिहासिक सन्धीसम्झौता तथाम नक्साको आधारमा यस समस्याको समाधान कुटनीतिक संवाद र वातामार्फत गर्न नेपाल प्रतिवद्ध छ ।’

परराष्ट्रमन्त्री खनालले सीमा विवादको मूल प्रश्न यसको समाधान कसरी गर्ने ? भन्ने रहेको उल्लेख गर्दै नेपाल–भारत सीमा विषय द्विपक्षीय मुद्दा भएकाले ऐतिहासिक सन्धि–सम्झौता, नक्शा तथा स्थापित आधारका आधारमा कुटनीतिक संवाद र वार्तामार्फत समाधान खोज्न नेपाल प्रतिवद्ध रहेको बताए ।

यसैगरी परराष्ट्रमन्त्री खनालले नेपाल–भारत सीमा व्यवस्थापनसम्बन्धी संयुक्त कार्य समूह (ज्वाइन्ट वर्किङ ग्रुप अन बोर्डर म्यानेजमेन्ट) को बैठक आगामी अगस्ट २०२६ मा आयोजना हुने जानकारी दिएका छन् ।

उनले नेपाल र भारतबिचको समन्वय, सहकार्य तथा साझेदारीलाई थप प्रभावकारी बनाउन स्थापित विभिन्न द्विपक्षीय संयन्त्रहरूलाई पुनः सक्रिय बनाइएको बताए ।

ती संयन्त्रहरूको नियमित बैठकले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन तथा साझा सम्भावना र सहकार्यका विषयमा छलफल गर्न महत्वपूर्ण भुमिका मन्त्री खनालको विश्वास छ ।

उनले भने, ‘दुई देशबिचको समन्वय, सहकार्य र साझेदारीलाई अझै बलियो बनाउनको लागि दर्जनौँ संयन्त्रहरु रहेका छन् । यसमध्ये केही संन्त्रहरु पछिल्लो समय क्रियाशील नरहेको पनि देखिन्छ । यस्ता संयन्त्रहरुको नियमित बैठकले नेपाल भारतबीच रहेका सम्भावना र सहकार्यका विषयमा छलफल गरी दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउन महत्वपूर्ण भुमिका खेल्न सक्छन् । नेपाल–भारतका विभिन्न क्षेत्रमा काम गर्नेगरी स्थापना गरिएका ती द्विपक्षीय संयन्त्रहरुको बैठक हाल सुचारु भएका छन् । ज्वाइन्ट वर्किङ गु्रप अन बोर्डर म्यानेमेन्टको बैठक अगस्ट २०२६ मा आयोजना हुँदैछ । हाल जोइन्ट फिल्ड सर्वे टिमले विभिन्न स्थानमा काम गरिरहेको छ । यस संयन्त्रलाई दिईको जिम्मेवारीबमोजिम हराएको सीमा स्तम्भ मर्मत, पुनस्थापना र पुनर्निमाण गर्ने कार्यहरु अगाडि बढेका छन् । हाल चार वटा छुट्टाछुट्टै टोली गठन भई नेपाल भारत सीमाका विभिन्न क्षेत्रमा काम भइरहेको छ ।’

उनले क्रस बोर्डर अकुपेशनसहितका विभिन्न विषयमा नेपाल र भारत दुवैतिरका सयन्त्रहरुले काम गरिरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?