काठमाडौं । हिमालयन रि इन्स्योरेन्स लिमिटेडको रकम हिनामिना तथा सम्पत्ति शुद्धीकरणको आरोप लागेका विवादित व्यवसायीहरू दीपक भट्ट, सुलभ अग्रवाल लगायतविरुद्धको मुद्दा दायरको तयारी अन्तिम चरणमा पुगेको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को प्रतिवेदनका आधारमा उनीहरूमाथि मुद्दा दायरको तयारी अन्तिम चरणमा पुगेको हो ।
अहिले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको रायसहितको प्रतिवेदनका आधारमा विशेष सरकारी वकीलको कार्यालय काठमाडौं र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले प्रतिवेदनलाई अन्तिम रूप दिने तयारी गरिरहेका छन् । दुवै सरकारी वकीलको कार्यालयले अभियोजनलाई अन्तिम रूप दिने गरी काम गरिरहेका छन् ।
कहाँ रोकियो अभियोजन ?
हिमालयन रि इन्स्योरेन्सको २ अर्ब ७३ करोड ३३ लाख रुपैयाँबराबरको रकम दुरुपयोगको विषयमा नेपाल बीमा प्राधिकरणले गरेको उजुरीपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान सुरु गरेका थियो । उक्त कसुरमा केन्द्रीय अनुसन्धान ब्युरोले बीमा ऐन, २०७९ अन्तर्गतको कसुरमा अनुसन्धान सम्पन्न गरी गत जेठ ६ गते नै रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाइसकेको छ ।
यता सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष सरकारी वकीलको कार्यालयमा बुझाएको सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर पनि यही मुद्दा र मुख्यतः हिमालयन रि इन्स्योरेन्स कम्पनीसँग सम्बन्धित विषय भएकाले दोहोरो कसुर नहोस् र एकापसमा सिलसिला मिल्ने गरी नै अभियोजन गर्ने भनी पहिले सम्पत्ति शुद्धीकरणको कसुरको मुद्दा दर्ताको तयारी भएको हो ।
विशेष सरकारी वकीलको कार्यालयले गत जेठ २५ गते थप ३ दिनको समय माग गरेर दीपक भट्ट, सुलभ अग्रवाल, शुभी अग्रवाललगायतका विरुद्ध मुद्दा दर्ताका लागि प्रतिवेदनलाई अन्तिम रूप दिई अभियोगपत्र तयार पार्दै छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अन्तर्गतको कसुरमा विस्तृत छानबिन गरी करिब २ हजार ४ सय पृष्ठ लामो प्रतिवेदन विशेष सरकारी वकीलको कार्यालय काठमाडौंमा पेस गरेको थियो । उक्त प्रतिवेदन हाल विशेष सरकारी वकिलको कार्यालयमा अध्ययनकै क्रममा रहेको र यसमा मुख्यतः विदेशी बैंक खाता, शंकास्पद स्विफ्ट कारोबार र स्रोत नखुलेको सम्पत्तिको जालो उजागर हुने बुझिएको छ ।
विशेष सरकारी वकीलको कार्यालयका सूचना अधिकारी पूर्णेन्द्र पाण्डेयले आगामी जेठ २८ गते बिहीबारसम्म सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको मुद्दा दर्ताको तयारी भइरहेको लोकपथलाई बताए ।
यता जिल्ला सरकारी वकिलको कार्यालयले भने बीमा ऐनसम्बन्धी कसुरमा मुद्दा दर्ताका लागि अभियोगपत्र तयार पारिसकेको जनाएको छ । अभियोगपत्र तयार भइसकेको भएपनि विशेष अदालतमा मुद्दा दायर भएपछि मात्रै जिल्ला अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको हो ।
अनुसन्धानले देखायो अर्बौंको जालो
लोकपथलाई प्राप्त संक्षिप्त विवरणअनुसार हिमालयन रि इन्स्योरेन्स कम्पनी लिमिटेड तथा अन्य बीमाका सहायक कम्पनीको रकमबाट कुल ३ अर्ब ७३ करोड ८५ लाख रुपैयाँ दुरुपयोग भएको पाइएको छ । जसमध्ये हिमालयन रि इन्स्योरेन्स कम्पनीको मात्रै २ अर्ब ७३ करोड ३३ लाख, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको १६ करोड १७ लाख, हिमालयन क्यापसर्व लिमिटेडको ३७ करोड, हिमालयन सेक्युरिटिज बैंकर लिमिटेडको २२ करोड १९ लाख र एचएलआई लार्ज क्याप फन्डको २५ करोड १४ लाख रुपैयाँ दुरुपयोग भएको हो ।
सीआईबीको प्रतिवेदनले हिमालयन रि इन्स्योरेन्ससहित पाँच सार्वजनिक बीमा कम्पनीमा करिब ४ अर्ब ६५ करोड रुपैयाँको वित्तीय अनियमितता भएको उल्लेख गरेको छ । २०८१ साउन १ गतेदेखिको विवरण हेर्दा उक्त रकममध्ये दीपक भट्टले करिब २ अर्ब ८९ करोड २० लाख, राजबहादुर सिंहले ८९ करोड ७० लाख, ऋषिराज मोरले २३ करोड १ लाख, शुभी अग्रवालले ६२ करोड ८९ लाख र हिमालय इन्भेस्टमेन्ट बैंकर लिमिटेडले २२ लाख रुपैयाँ अपचलन गरेको देखिएको छ । अनुसन्धानले यी रकम व्यक्तिगत प्रयोजनका लागि सेयर खरिद–बिक्री, घरजग्गा खरिद, माइक्रोफाइनान्स तथा सहकारीमा लगानी, नक्कली सेयर कारोबार र विलासी सवारी साधन खरिदमा प्रयोग भएको पुष्टि गरेको छ ।
दुरुपयोग भएको रकममध्ये ६५ करोड रुपैयाँ नक्कली पुनर्बीमा दाबीका कागजात बनाई हङकङ र सिंगापुरका बैंक खातामा स्विफ्ट सन्देशमार्फत पठाइएको समेत पाइएको स्रोतले जनाएको छ । यो प्रकरणले सम्पत्ति शुद्धीकरणमा कहाँ र कसरी रकमको दुरुपयोग र शुद्धीकरण हुन्छ भनी देखाएपनि अनुसन्धान भने निकै जटिल भएको समेत देखिएको छ ।
यति ठूलो रकमको कारोबार र अपचलन भएपनि सम्पत्ति शुद्धीकरणको कसुरमा कहाँ कहाँ कति कति रकमको गडबडी भयो र हिसाब मिलेन भन्ने यकिन भइसकेको छैन ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग स्रोतका अनुसार दीपक भट्टको निजी तथा आफन्तको खातामा रहेको १५ करोड २३ लाख, सुलभ अग्रवालको हकमा ११ करोड ७८ लाख र साहिल अग्रवालको नाममा ८ करोड ४० लाख रुपैयाँको स्रोत नखुल्ने सम्पत्ति फेला परेको छ । यी रकमको वैध स्रोत पेस गर्न भनिएकामा आरोपितले स्रोत पेस गर्न नसकेका कारण उनीहरुविरुद्ध सम्पत्ति शुद्धीकरण निवारण ऐनअनुसार जफत गर्नुपर्ने गरी विभागले विशेष सरकारी वकीलको कार्यालयमा राय पठाएको छ ।
यसरी सुरु भयो अनुसन्धान
नेपाल राष्ट्र बैंकको वित्तीय सूचना एकाइले २०७८ असार महिनामा जगदम्बा स्टिल प्रालिबाट दीपक भट्टको सिद्धार्थ बैंकमा रहेको खातामा ४५ करोड रुपैयाँ स्थानान्तरण भएको तर उक्त कारोबार कम्पनीको लेखा परीक्षणमा नदेखिएको विषय उजागर गरेको थियो । बैंकले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई जानकारी गराएपछि सुरु भएको छानबिनमा उक्त रकम इन्फिनिटी होल्डिङ्समा जम्मा गरी हिमालयन रि इन्स्योरेन्सको सेयर खरिदमा प्रयोग भएको पाइएको थियो । अनुसन्धानकै क्रममा जगदम्बा स्टिलले सोही ऋणबाट बिना प्रयोजन थप १५ करोड रुपैयाँ पनि भट्टलाई सेयर खरिदकै लागि दिएको खुलेको थियो । सोही प्रकरणको अनुसन्धान गर्दै जाँदा हिमालयन रि इन्स्योरेन्सको ४ अर्ब ६५ करोडभन्दा बढी रकम अनियमितता र अपचलन भएको देखिएको हो ।
यो प्रकरणमा सबैभन्दा पहिले गत चैत १९ गते सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा सीआईबीले विवादित व्यवसायी दीपक भट्टलाई पक्राउ गरेको थियो ।
त्यसपछि चैत २२ गते सुलभ अग्रवाल पनि पक्राउ परेका थिए । त्यसयता काठमाडौं जिल्ला अदालत र विशेष अदालतले उनीहरूलाई पटक–पटक हिरासतको म्याद थप गर्दै अनुसन्धान गर्न दिएको थियो ।
यो पनि…
हिमालयन रिइन्स्योरेन्स घोटाला प्रकरणमा ४० जनाविरुद्ध मुद्दा चलाउन सिफारिस, झण्डै ४ अर्ब दुरुपयोग !
हिमालयन लाइफका सीईओ पनि ‘हिमालयन रि’ अनियमिततामा संलग्न, २५ करोड बढी दुरुपयोग !
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया