काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बीमा क्षेत्रमा देखिएको अर्बौँ अपचलन भएको विषयको पहिलो अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकीलको कार्यालयलाई बुझाएको छ ।
सीआईबीले अनुसन्धानको क्रममा हिमालयन रि (हिमालयन रि इन्स्योरेन्स) सहित हिमालयन रिका प्रोमोटरहरू नै संलग्न हिमालयन लाइफ इन्स्योरेन्स लगायतका कम्पनीहरुमा ४ अर्ब ६५ करोड ४ लाख ६० हजार ८ सय १२ रुपैयाँ दुरुपयोग भएको निष्कर्षसहित जिल्ला सरकारी वकीलको कार्यालयमा प्रतिवेदन बुझाएको हो ।
सीआईबीको प्रतिवेदन अनुसार बीमा कम्पनी (बिमक) तथा सहायक कम्पनीको ३ अर्ब ७३ करोड ८५ लाख २४ हजार २ सय २७ रकम अनियमितता भएको उल्लेख छ । जसमा हिमालयन रि–इन्स्योरेन्समा २ अर्ब ७३ करोड ३३ लाख १५ हजार १ सय ६० रुपैयाँ अपचलन भएको देखिन्छ ।
यसैगरी नेपाल माईक्रो इन्स्योरेन्स लिमिटेडमा १६ करोड १७ लाख ५२ हजार ८ सय ७३ रुपैयाँ, हिमालयन क्यापसर्व लिमिटेडमा ३७ करोड, हिमालयन सेक्युरिटिज बैंकर लिमिटेडमा २२ करोड १९ लाख ७१ हजार ४ सय ४७ रुपैयाँ र एचएलआई लार्ज क्याप फण्डमा २५ करोड १४ लाख ८४ हजार सात सय ४८ रुपैयाँ अपचलन भएको सीआईबीको निष्कर्ष रहेको छ ।
सीआईबीको अनुसन्धान प्रतिवेदन अनुसार हिमालयन रि–इन्स्योरेन्स लगायत बिमकको अग्रिम भुक्तानी तथा शेयर कारोबारको नाममा भृकुटी स्टक ब्रोकिङ कम्पनी लिमिटेडमार्फत ४ अर्ब ६५ करोड ४ लाख ६० हजार ८ सय १२ रुपैयाँ दुरुपयोग भएको देखिएको छ ।
उक्त रकममा २ अर्ब ८९ करोड २० लाख ४८ हजार ८ सय ३९ रुपैयाँ दिपक भट्टले अपचलन गरेको देखिन्छ । यस्तै राज बहादुर शाहले ८९ करोड ७० लाख ९७ हजार ३ सय ४६ रुपैयाँ, ऋषीराज मोरले २३ करोड १ लाख ३१ हजार ९ सय २ रुपैया, शुभी अग्रवालले ६२ करोड ८९ लाख ५६ हजार ३ सय ७१ रुपैयाँ र हिमालयन ईन्भेष्टमेण्ट बैंकर लिमिटेडले २२ लाख २६ हजार ३ सय ५२ रुपैयाँ दुरुपयोग गरेको देखिन्छ ।
अर्बौँको अपचलन देखिएपछि सीआईबीले हिमालयन रिइन्स्योरेन्स ठगी तथा घोटालामा संलग्न भन्दै ४० जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ । जसमा हिमालयन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) को समेतको प्रत्यक्ष संलग्नता देखिएको छ ।

सीआईबीको प्रतिवेदन अनुसार सीईओ कपिलकुमार दाहालसहित राजन प्रसाद अधिकारी, विदुर पुरी, विनु घिमिरे, नारायणकुमार अधिकारी, उत्सव प्रधानाङ्ग, सुमेर कुमार जबरा, सुभाष पौडेल, सालिनी संघाई र प्रतिक जोशीको संलग्नतामा करोडौँ रकम अनियमितता गरेको देखिएको छ । हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेड तथा एचएलआई लार्ज क्याप फण्डबाट २५ करोड बढी रकम दुरुपयोग तथा अनियमितता भएको देखिन्छ । एचएलआई लार्ज क्याप फण्डबाट २५ करोड १४ लाख ८४ हजार ७ सय ४८ रुपैयाँ तथा हिमालयन ईन्भेष्टमेन्ट बैंकरबाट २२ लाख २६ हजार ३ सय ५२ रुपैयाँ अनियमितामा संलग्न रहेको भन्दै सीआईबीले सीईओ दाहालसहितलाई मुद्दा चलाउन सिफारिस गरेको हो ।
हिमालयन लाइफको यसअघिका सीईओको परिवारले संचालन गरेको भृकुटी स्टक ब्रोकिङमार्फत अर्बौँको घोटालामा संलग्नता देखिएसँगै हिमालयन लाइफ इन्स्योरेन्समा पनि यस्तै सिलसिलेवार घोटाला हुनसक्ने आशंकामा सीआईबीले दोस्रो चरणको सुक्ष्म अनुसन्धान जारी राख्ने देखिएको छ ।
बीमा प्राधिकरणका अनुसार हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कोष प्रवर्द्धनमा रहेको हिमालयन लाइफ इन्स्योरेन्स म्यूचुअल फण्ड अन्तर्गत एचएलआई लार्ज क्याप फण्ड जस्ता म्यूचुअल फण्डको रकम अनियमितता तथा आर्थिक दुरुपयोग भएको खण्डमा यसको हानी नोक्सानी सिधै बीमा कम्पनीलाई पर्छ ।
हिमालयन लाइफका सीईओ दाहालले आफू नेतृत्वमा आएको केही महिना कम्पनीबारे बुझ्न समय लागेको जब सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले अनुसन्धान अगाडी बढायो तब मात्र निगरानी गर्दा हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडका सीईओ सुमेर शमशेर जबरा निलम्बनको अवस्थामा पुगेको बताए ।
हजारौँ नागरिकको लगानी रहेको पब्लिक लिमिटेड कम्पनी हिमालयन लाइफ इन्स्योरेन्सले लगानी गर्ने र नाफा कमाउने भन्दै हिमालयन सेक्युरिटिज बैंकर जस्ता संस्थामार्फत् लगानी गर्न खोज्छन् । तर आईपीओको धन्दामा माहिर शुलभ अग्रवाल, दिपक भट्टहरुले जनताको पैसा उठाएर प्रोमोटर भएको नाममा आफ्नो मनमौजी खर्च गर्ने गरेको सीआईबीको अनुसन्धानपछि जिल्ला सरकारी वकीलको कार्यालयलाई बुझाएको प्रतिवेदनले प्रष्ट गर्छ ।
अझ रोचक पक्ष के छ भने हिमालयन लाइफ इन्स्योरेन्सका यसअघिका सीईओ मनोज कर्णका श्रीमतीको प्रत्यक्ष लगानी रहेको कम्पनी हो, ब्रोकर ५५ अर्थात् भृकुटी स्टक ब्रोकिङ कम्पनी प्रालि । अर्बौँको अपचलनमा संलग्न देखिएको यो कम्पनी, मनोज कर्ण, दिपक भट्ट र शुलभ अग्रवालको रहस्यमयी कारोबारको विषयमा सीआईबीले ९० दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने बाध्यताले खासै प्रवेश गरेको देखिँदैन ।
यसअघि प्रकाशित यो पनि
हिमालयन रिइन्स्योरेन्स घोटाला प्रकरणमा ४० जनाविरुद्ध मुद्दा चलाउन सिफारिस, झण्डै ४ अर्ब दुरुपयोग !
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया