आईएमई लाइफको रेटिङ स्तरोन्नति, ‘केयर एनपी ए’ प्राप्त

लोकपथ
63
Shares

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो वित्तीय तथा संस्थागत क्षमता थप सुदृढ बनेको संकेतस्वरूप रेटिङ स्तरोन्नति हासिल गरेको छ । कम्पनीले यसअघि प्राप्त ‘केयर एनपी बीबीबी’ रेटिङबाट स्तरोन्नति हुँदै ‘केयर एनपी ए’ रेटिङ प्राप्त गरेको जनाएको छ ।

कम्पनीका अनुसार रेटिङ एजेन्सी केयर रेटिङ्स नेपाल लिमिटेडले कम्पनीको वित्तीय अवस्था, जोखिम व्यवस्थापन, व्यावसायिक कार्यसम्पादन तथा संस्थागत सुशासनको मूल्याङ्कनपछि नयाँ रेटिङ प्रदान गरेको हो ।

‘केयर एनपी ए’ रेटिङले कम्पनीको वित्तीय दायित्व समयमै पूरा गर्ने पर्याप्त क्षमता रहेको तथा अघिल्लो मूल्याङ्कनको तुलनामा संस्थागत रूपमा थप सुदृढ बनेको संकेत गर्ने कम्पनीले जनाएको छ ।

कम्पनी व्यवस्थापनले यो उपलब्धिलाई ग्राहक, लगानीकर्ता, अभिकर्ता तथा अन्य सरोकारवालाको विश्वास र सहयोगको प्रतिफलका रूपमा लिएको जनाएको छ । साथै आगामी दिनमा ग्राहक सेवा, सुशासन, नवप्रवर्तन र दीर्घकालीन वित्तीय स्थायित्वलाई अझ मजबुत बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ ।

जीवन बीमा क्षेत्रमा सक्रिय आईएमई लाइफले देशभर शाखा सञ्जाल, उपशाखा तथा हजारौं अभिकर्तामार्फत सेवा प्रदान गर्दै आएको छ । कम्पनीले विभिन्न जीवन बीमा योजनामार्फत नागरिक तथा परिवारको आर्थिक सुरक्षा, बचत तथा भविष्य सुनिश्चित गर्न योगदान पुर्‍याउँदै आएको जनाएको छ ।

कम्पनीले डिजिटल प्रविधिमा आधारित सेवा विस्तार, जिम्मेवार लगानी व्यवस्थापन तथा नवीन बीमा समाधानमार्फत नेपाली बीमा क्षेत्रमा छुट्टै पहिचान स्थापित गरेको दाबी गरेको छ । साथै स्वास्थ्य, शिक्षा, वित्तीय साक्षरता तथा सामुदायिक विकासका क्षेत्रमा सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।

कम्पनीका अनुसार ‘केयरएनपी ए’ रेटिङ प्राप्त गर्नु केवल उपलब्धि मात्र नभई आगामी दिनमा अझ उत्कृष्ट सेवा, उच्च व्यावसायिक मापदण्ड र वित्तीय सुदृढताप्रति थप जिम्मेवार बन्ने प्रेरणासमेत हो । कम्पनीले भविष्यमा पनि बीमितहरूको हित संरक्षण गर्दै नेपालको बीमा क्षेत्रको विकासमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?