काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टीलाई देशको एक सशक्त राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने उद्घोष गरेका छन् ।
सरकारको कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गर्दै उनले जनअपेक्षाअनुसार काम हुन नसके पार्टीले सशक्त प्रतिवाद गर्ने चेतावनी दिएका हुन् ।
पार्टीको आगामी कार्यदिशाबारे स्पष्ट पार्दै अध्यक्ष घिसिङले उज्यालो नेपाल पार्टी सधैं जनताकै बीचमा रहेर उनीहरूको समस्या र मुद्दालाई प्राथमिकताका साथ उठाउने बताएका छन् ।
आगामी स्थानीय तथा प्रदेश निर्वाचनलाई लक्षित गर्दै पार्टीले संगठन विस्तारको विशेष योजना अघि सारेको उनले जानकारी दिए । उनका अनुसार प्रत्येक वडा र गाउँपालिकासम्म पार्टीको उपस्थिति मजबुत बनाउन ‘उज्यालो अभियान’ सञ्चालन गरिनेछ ।
संगठनलाई जरोदेखि बलियो बनाउँदै आगामी निर्वाचनमार्फत आफ्नो सरकार स्थापना गर्ने लक्ष्य पार्टीले लिएको घिसिङको भनाइ छ । युवालाई लक्षित गर्दै रोजगारी सिर्जना, लगानी प्रवर्द्धन र उद्यमशीलता विकासका कार्यक्रम ल्याइने उनले बताए ।
युवालाई देशको अर्थतन्त्र र लगानी प्रवर्द्धनमा कसरी जोड्न सकिन्छ भन्ने विषयमा ठोस कार्ययोजना निर्माण भइरहेको उनको भनाइ थियो ।
घिसिङले भने, ‘सरकारले राम्रोसँग काम गर्न सकेन भने नेपाली जनतालाई निराश हुन हामी दिँदैनौं । त्यसको प्रतिवाद गर्छौं । उज्यालो नेपाल पार्टी सधैं जनताको माझमा रहेर जनताका मुद्दा र समस्यासहित अघि बढ्छ । नेपालमा नयाँ विकल्प फेरि पनि पुरानै हुन सक्दैन । नयाँ विकल्प भनेकै उज्यालो नेपाल पार्टी हो ।
उनले आगामी स्थानीय तह, प्रदेश तथा संघीय निर्वाचनमा पार्टीलाई सशक्त रूपमा अघि बढाइने दाबी गरे । साथै, सरकार बाहिर बसेर पनि आर्थिक विकास, समाज रूपान्तरण र विकासका विभिन्न क्षेत्रमा योगदान दिन सकिने विश्वास व्यक्त गरे ।
देशको आर्थिक विकास र सामाजिक रूपान्तरणका लागि सत्तामै पुग्न अनिवार्य नरहेको उल्लेख गर्दै घिसिङले रचनात्मक भूमिकामार्फत जनताको भरोसा जित्ने प्रयास जारी रहने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया