विश्व वातावरण दिवस : सुन्दरबजार युवा क्लबद्वारा सरसफाइ तथा वृक्षारोपण

लोकपथ
203
Shares

लमजुङ । जिल्लाको सुन्दरबजार नगरपालिका स्थित सुन्दरबजार युवा क्लबको आयोजनामा आज विश्व वातावरण दिवस विविध कार्यक्रम गरी मनाइएको छ ।

क्लबका अध्यक्ष सुजन राना मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वातावरण संरक्षण, सरसफाइ तथा जनचेतना अभिवृद्धि सम्बन्धी गतिविधिहरू सञ्चालन गरिएको थियो ।

कार्यक्रम अन्तर्गत सरसफाइ अभियान, वातावरण संरक्षणसम्बन्धी सचेतनामूलक प्रचार–प्रसार तथा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिएको थियो । सो अवसरमा अध्यक्ष राना मगरले वातावरण संरक्षण आजको प्रमुख आवश्यकता भएको उल्लेख गर्दै वातावरण स्वच्छ राख्न प्रत्येक नागरिकले आफ्नो घर, टोल र समुदायबाट नै सकारात्मक पहल गर्नुपर्ने बताए । उनले स्वच्छ वातावरण निर्माणका लागि युवाहरूको सक्रिय सहभागिता आवश्यक रहेको धारणा व्यक्त गरे ।

कार्यक्रममा सुन्दरबजार युवा क्लबका सम्पूर्ण पदाधिकारी, सदस्य तथा युवा साथीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

सहभागीहरूले वातावरण संरक्षणका लागि सामूहिक प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताएका थिए ।

सुन्दर बजार युबा क्लबका सदस्य सन्तोष गुरुङले वातावरण जोगाउनु भनेको भविष्यका पुस्ताको सुरक्षित जीवन सुनिश्चित गर्नु हो भन्दै सबैलाई वातावरण संरक्षणका अभियानमा सक्रिय रूपमा सहभागी हुन आग्रह गरे ।

उनले वातावरण संरक्षणमा सामूहिक प्रयास र जनचेतनाको विस्तार अपरिहार्य रहेको बताए ।

शुक्रबार देशभर विभिन्न कार्यक्रम गरी विश्व वातावरण दिवस मनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?