राप्रपामा बढ्दो गुटबन्दीप्रति ज्ञानेन्द्र शाही असन्तुष्ट, भने– ‘जुँगाको लडाइँ देखेर युवा वाक्क भए’

लोकपथ
49
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) ले पार्टीभित्र देखिएको आन्तरिक विवाद र नेतृत्व संघर्षप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक धारणा राख्दै पार्टीभित्र बढ्दो गुटबन्दी र पदका लागि भइरहेको प्रतिस्पर्धाले संगठन कमजोर बनाइरहेको टिप्पणी गरेका हुन् ।

शाहीले नेताहरू पदमा टाँसिएर बस्ने प्रवृत्ति अन्त्य हुनुपर्ने भन्दै आवश्यक परे नेतृत्वले त्याग गर्न सक्नुपर्ने बताएका छन् ।

उनका अनुसार वर्तमान विवादका कारण पार्टीका कार्यकर्ता निराश हुँदै गएको र युवाहरूको राजनीतिक विश्वास कमजोर बन्दै गएको छ ।

उनले नेताहरूलाई एकअर्कामाथि आरोप–प्रत्यारोपमा नलागी पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।

शाहीले भने, ‘तिमीहरूको डिएनएमै मिलेर जाने भन्ने रहेनछ । जुँगाको लडाइँ देखेर युवाहरू वाक्क भइसकेका छन् । एउटाले पद नछोड्ने, अर्कोलाई चुनावै नलडी नेतृत्व चाहिने यो कस्तो राजनीति हो ?’

उनले नेतृत्व विवादले पार्टी मात्र होइन, समग्र युवा पुस्ताको राजनीतिक भरोसा समेत कमजोर बनाइरहेको छ । शाहीले समाधानका लागि छलफल र आन्तरिक सुधारमार्फत अघि बढ्न नेताहरूलाई आग्रह गरेका छन् ।

उनका अनुसार अहिलेको आवश्यकता अध्यक्ष पदको प्रतिस्पर्धा होइन, पार्टी शुद्धीकरण र युवालाई समेटेर वैकल्पिक राजनीतिक सोच निर्माण गर्नु हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?