काठमाडौं । समुन्द्री सतहबाट दुई हजार मिटरभन्दा माथि उचाईमा सुदूरपश्चिमको अछाममा रामारोशन स्काई रन २०२६ आयोजना हुने भएको छ ।
नेपाल एडभेन्चर रनिङ फेडेरेसनको आयोजनामा अछामको रामारोशन गाउँपालिकामा पहिलोपटक स्काई रनिङ आगामी असार ३ गते हुने लागेको हो ।
प्रसिद्ध पर्यटकीय तथा प्राकृतिक सम्पदाले भरिपूर्ण रामारोशन क्षेत्रमा स्काई रनिङ हुने भएको आयोजकले जनाएको छ ।
एडभेन्चर रनिङ फेडेरेसनले मंगलबार नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) मा पत्रकार सम्मेलन गर्दै नेपालमा पहिलोपल्ट २८ किलोमिटरको स्काई रनिङ हुने जानकारी दिएको हो । समुन्द्री क्षेत्रको दुई हजार ५० मिटरदेखि तीन हजार ८ सय ५० मिटर उचाईमा उक्त दौड हुने भएको छ । स्काई रनिङ च्यालेन्जमा पुरुष र महिला विधामा प्रतिष्पर्धा हुनेछ ।
साथै स्थानीय युवालाई प्रोत्साहन गर्न पाँच किलोमिटर सामुदायिक दौड पनि आयोजना हुने नेपाल एडभेन्चर रनिङ फेडेरेसनका अध्यक्ष एकेन्द्र कुँवरले जानकारी दिए ।
उक्त दौड रामेखण्डबाट सुरु भई जिङ्गाले ताल, लामादह ताल, रोशन पाटन हुँदै तीन हजार ८२० मिटर उचाइमा रहेको चाँखाटप र किनिमिनी पाटनलगायतका प्रमुख प्राकृतिक स्थलहरू पार गर्दै पुनः रामेखण्डमै पुगेर टुङ्गिनेछ ।
धावकहरूको सुरक्षा र सुविधाका लागि ६ वटा वाटर पोइन्ट र ६ वटा चेक पोइन्टको व्यवस्था गरिएको छ । उक्त दौडमा एक सय जना धावकले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।
पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले विदेशी धावकलाई पनि ल्याउने एडभेन्चर रनिङ फेडेरेसनका अध्यक्ष कुँवरले बताए । २८ किमी दौड पूरा गर्नेलाई फिनिसर मेडल प्रदान गरिनेछ ।
नेपालका लागि ओलम्पिकमा पदक जित्नसक्ने खेल नै एडभेन्चर रनिङ रहेको र यसलाई सरकारले पनि प्रोत्साहित गर्नुपर्ने अध्यक्ष कुँवरले बताए । त्यसैले पनि फेडरेसनले एडभेन्चर रनिङ प्रतियोगितालाई विकास गर्दै लगेको उनको भनाइ छ । सुदूरपश्चिममा पहिलोपल्ट एडभेन्चर रनिङ हुन लागेको उनले बताए । २८ किलोमिटर स्काई रनिङ च्यालेन्जको पुरुष तथा महिला दुवै विधामा च्याम्पियनले एक लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।
दोस्रो र तेस्रो स्थानका धावकले क्रमशः ७५ हजार र ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । शीर्ष १० स्थान हासिल गर्ने धावकहरूलाई पनि नगद पुरस्कार प्रदान गरिनेछ । पाँच किलोमिटर सामुदायिक दौडतर्फ पुरुष तथा महिला दुवै विधाका शीर्ष तीन विजेताले क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगिताको दर्ता शुल्क दुई हजार ५०० रुपैयाँ तोकिएको छ भने स्थानीय सहभागीका लागि निशुल्क गरिएको छ ।
खेलका लागि दर्ता गर्ने पहिलो ३० जनालाई काठमाडौं–रामारोशन–काठमाडौं निशुल्क यातायात सुविधा उपलब्ध गराइने आयोजकले जनाएको छ ।
सहभागी सबैलाई रामारोशनमा आवास, भोजन तथा अछामभित्र तोकिएको स्थानबाट आवतजावतको सुविधा दिइनेछ । उक्त प्रतियोगिता सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्, सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय, रामारोशन गाउँपालिका तथा साँफेबगर नगरपालिकासँगको सहकार्यमा हुन लागेको हो । यस कार्यक्रमको मुख्य उद्देश्य सुदूरपश्चिमको प्राकृतिक सौन्दर्य, साहसिक खेलकुद, पर्यटन र स्थानीय संस्कृतिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्नु रहेको आयोजकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया