काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले प्रधानमन्त्री वालेन्द्र साहले प्रतिनिधि सभामा दिएको सीमा सम्बन्धी अभिव्यक्तिको कडा आलोचना गर्दै छानबिन र सार्वजनिक माफीको माग गरेका छन् ।
सोमबार आकस्मिक समयमा बोल्दै सांसदहरूले प्रधानमन्त्री साहले नेपालले पनि भारतको भूमि अतिक्रमण गरेको भन्ने अभिव्यक्ति मुलुकको सार्वभौमिकता विपरीत भएको दाबी गर्दै तत्काल स्पष्ट प्रमाण सार्वजनिक गर्न सरकारसँग माग गरेका हुन् ।
नेपाली कांग्रेसका सांसद रञ्जित कर्णले प्रधानमन्त्रीले दाबी गरेको नेपालले भारतको भूमि अतिक्रमणसम्बन्धी प्रमाण २४ घण्टाभित्र सार्वजनिक गर्नुपर्ने माग गरे। उनले प्रमाण दिन नसके प्रधानमन्त्रीले सार्वजनिक रूपमा माफी माग्नुपर्ने र विषयको छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने बताए ।
यसैगरी, नेकपा (एमाले)की सांसद रामकुमारी झाँक्रीले प्रधानमन्त्रीको अभिव्यक्तिले स्वाभिमानी नेपालीको शीर निहुरिएको टिप्पणी गर्दै यो गम्भीर विषय भएको बताइन् । उनले सीमा अतिक्रमणबारे ऐतिहासिक तथ्यहरू रहेको उल्लेख गर्दै प्रधानमन्त्रीको भनाइलाई असावधानी मान्न नसकिने दाबी गरिन् ।
त्यस्तै, नेकपा (माओवादी केन्द्र)की सांसद राजेन्द्रलक्ष्मी गैरेले प्रधानमन्त्रीले संसदबाट भारतको पक्षमा वकालत गरेको आरोप लगाउँदै उक्त अभिव्यक्तिको कडा विरोध गरिन्। उनले प्रधानमन्त्रीको भनाइलाई “देशद्रोही कार्य” को संज्ञा दिँदै स्पष्टिकरण माग गरिन् ।
प्रधानमन्त्री साहले आइतबार प्रतिनिधि सभामा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा नेपालले मात्र नभई भारतले पनि नेपालको भूमि अतिक्रमण गरेको र नेपालले पनि भारतको केही क्षेत्रमा अतिक्रमण भएको तथ्य आफू प्रधानमन्त्री भएपछि जानकारीमा आएको बताएका थिए ।
उनको यही अभिव्यक्तिलाई लिएर संसदभित्र तीव्र विवाद उत्पन्न भएको छ। विपक्षी दलहरूले प्रधानमन्त्रीले माफी माग्नुपर्ने अडान राख्दै संसद अवरुद्ध गर्ने चेतावनी दिएका छन् भने सरकार पक्षले विषयको स्पष्टता आवश्यक रहेको प्रतिक्रिया दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया