महिला अधिकार दिवसमा राष्ट्रपतिको सन्देश : विभेद र हिंसाको अन्त्य गरौँ

लोकपथ
35
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले महिलाको क्षमता, सिर्जनशीलता र नेतृत्वलाई राष्ट्र निर्माणको मुख्य आधारका रूपमा स्थापित गर्दै मुलुकको समृद्धि र दिगो विकास हासिल गर्नु आजको आवश्यकता भएको बताएका छन् ।

आठौँ राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले महिला अधिकारको सम्मान, आत्मनिर्भरता र समृद्धिको अभियानलाई प्रभावकारी रूपमा अघि बढाउन सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गरेका हुन् ।

उनले महिलामाथि हुने सबै प्रकारका विभेद, हिंसा तथा असमानताको अन्त्य गर्दै सम्मानजनक र सुरक्षित समाज निर्माण गर्नु सबैको साझा दायित्व भएको बताएका छन् । घर, समाज, कार्यस्थल तथा निर्णय प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्दै लैङ्गिक समानता प्रवर्द्धन गर्न राज्य र नागरिक समाजबीच सहकार्य सुदृढ गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

राष्ट्रपति पौडेलले महिला अधिकार सुनिश्चित गर्न योगदान गर्ने सबै व्यक्ति तथा संस्थाप्रति धन्यवाद व्यक्त गर्दै राष्ट्रिय महिला अधिकार दिवसले महिला सशक्तीकरणको अभियानलाई थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

विसं २०६३ जेठ १६ गते तत्कालीन पुनःस्थापित प्रतिनिधिसभाले महिलाका अधिकारसम्बन्धी चार विशेष प्रस्ताव पारित गरेको दिनको स्मरणमा हरेक वर्ष जेठ १६ गते राष्ट्रिय महिला अधिकार दिवस मनाइँदै आएको छ ।

राष्ट्रपति पौडेलले शिक्षा, विज्ञान, प्रविधि, राजनीति, प्रशासन, कला तथा उद्यमका क्षेत्रमा नेपाली महिलाले उल्लेखनीय सफलता हासिल गरेको उल्लेख गर्दै महिलाको श्रम, सीप र क्षमतालाई विकास प्रक्रियाको मूलप्रवाहमा समाहित गर्न सरकारका नीति तथा कार्यक्रम कार्यान्वयन भइरहेको बताएका छन् ।

उनले सामाजिक सोच, प्रथा र व्यवहारमा सकारात्मक परिवर्तन ल्याई महिलाको सुरक्षा, सम्मान र अधिकार सुनिश्चित गर्दै लैङ्गिक समानतायुक्त सभ्य समाज निर्माणका लागि दिवसले सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?