भारतको उत्तर प्रदेशमा ठगिएका ४५० भन्दा बढी नेपालीको एकै दिन उद्धार

लोकपथ
0
Shares

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयले भारतको उत्तर प्रदेश सरकार र उत्तर प्रदेश प्रहरीसँगको समन्वयमा भारतको पटना क्षेत्रबाट ठूलो संख्यामा पीडित नेपाली कामदारको उद्धार गरेको छ । 

शुक्रबार राति भएको संयुक्त अप्रेसनमा ४५० जना भन्दा बढी नेपालीको उद्धार गरिएको हो । 

मासिक कम्तीमा ५० हजार नेपाली रुपैयाँ र अधिकतम मासिक २ लाख रुपैयाँसम्मको कमाइ हुने लोभमा धेरै नेपाली युवायुवती भारतको पटना पुगेका थिए । मुख्यतः भारतीय सीमा क्षेत्रमा रहेका युवायुवतीहरु आकर्षक तलब पाउने लोभमा पटना पुगेर १० देखि १५ हजार भारतीय रुपैयाँ तिर्दै ‘मासिक २ लाख रुपैयाँ कमाउने तालिम’ लिइरहेका थिए ।

भारतको पटनामा कारखाना रहेको भनिएको ‘मोडर्न फेसन ट्रेड मार्ट’ लगायत कम्पनीमा बिहान ६ बजेदेखि बेलुकासम्म उनीहरूले तालिम गरिरहेका थिए । कम्पनीले तालिम दिँदा गार्मेन्ट कम्पनीको काम रहेको, त्यहाँ सिलाइकटाइ लगायतको तालिम हुने र फेसनेबल कपडा उत्पादन हुने भन्दै आएको छ । तर तालिम दिने स्थानमा फ्याक्ट्री, गोदाम लगायतका कुनै संरचना नभएको र मानिसहरू यो वा त्यो नाममा नेपालबाट भारतको पटनामा रोजगारीको लोभमा पुगिरहेका थिए । 

ती कम्पनीले उमेर समूह र क्षेत्र तोकेर भारतीय गिरोहले फेसबुक लगायतको सामाजिक सञ्जालमा पटकपटक विज्ञापन गर्दै आएको छ । यस्तै ती कम्पनीका नाममा प्याकिङ सहायक, सुरक्षा गार्ड, सेल्सम्यान, ड्राइभर आदि आवश्यक परेको र मासिक तलब २२ हजारदेखि ४० हजार रुपैयाँसम्म हुने भन्दै विज्ञापन आउने गरेको थियो । तर त्यसमा मोबाइल नम्बर प्रयोग गरिएको थिएन । त्यहाँ ह्वाट्सएप नम्बरमात्रै दिइएको थियो ।

त्यस्तै प्रकारमा अन्य कैयन् विज्ञापन फेसबुकमा राखिएको थियो । यस्तै, फ्याक्ट्रीमा काम गरिरहेको फोटो, गार्मेन्टबाट तयार भएको कपडाको फोटो, सिलाइ तथा कटाइ गरिरहेको फोटो र सेक्युरिटी गार्डको फोटो राखेर विज्ञापन गर्ने गरिएको थियो ।

त्यस्तै महिलाहरूले सिलाइकटाइ गरिरहेको फोटो राखेर ती कम्पनीको नामबाट कर्मचारी आवश्यकता भन्ने विज्ञापन गर्ने गरिएको थियो । तिनै विज्ञापन हेरेर नेपाली युवायुवतीले विज्ञापनमै दिइएको भारतीय नम्बरको ह्वाट्सएपमा सम्पर्क गरेर रोजगारी सम्बन्धी कुरा गर्ने गरेका थिए । कम्पनीका तर्फबाट कुराकानी गर्ने व्यक्तिहरू नेपाली नै थिए । उनीहरूलाई एक साताको तालिम लिएपछि मासिक न्यूनतम २२ हजार भारतीय रुपैयाँदेखि माथि तलब हुने गरी जागिर पाइने भन्ने गरिएको थियो । तालिम लिएर काम गर्नेहरूले मासिक १२ लाख रुपैयाँसम्म कमाइ गरिरहेको कुरा पनि सुनाइने र राम्रोसँग मेहनत गरे त्यति रकम कमाइ गर्न सक्ने सुनाइन्थ्यो । 

उनीहरूलाई सुरुमा कुरा गर्दा आफूहरूको ठूलो फ्याक्ट्री भएको, भारत तथा नेपालको विभिन्न स्थानमा समेत फ्याक्ट्री सञ्चालनमा रहेको, विदेशमा समेत कपडा निर्यात गर्ने गरेको जानकारी दिएर लोभ्याउने गरिन्थ्यो । 

यतिमात्र नभई भारतमा काम गरे पनि पाइने र नेपालकै फ्याक्ट्रीमा काम गर्न पनि पाइने बताइने गरिएको थियो । तालिम एक सातादेखि २ साताको हुने र खाने–बस्ने व्यवस्था पनि कम्पनीले नै गरिदिने बताइने गरिएको थियो । तर तालिम लिएपछि नभागुन् भनेर १० देखि १५ हजार रुपैयाँ तालिम बापत तिर्नुपर्ने बताइने गरिएको थियो ।

मुख्यतः सीमा क्षेत्रका नेपाली युवायुवतीलाई लक्षित गरी विज्ञापन गर्ने र उनीहरूलाई यस्तै कुरामा कन्भिन्स गरेर भारतको पटना पुर्‍याउने गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?