चिनियाँ पर्यटन गिरोहको धन्दा, गैँडाको खाग र हात्तीको दाँतसमेत किन्न पाइने भन्दै डिलिङ !

यसरी चलिरहेछ नेपालमा चिनियाँ ‘शपिङ टुर’ को अदृश्य खेल

काठमाडौं । नेपाल सरकार र नेपाल पर्यटन बोर्डले अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपाललाई प्रकृति, संस्कृति र साहसिक पर्यटनको उत्कृष्ट गन्तव्यका रूपमा प्रवद्र्धन गरिरहँदा आन्तरिक बजारमा भने एउटा अनौठो दृश्य देखिँदै छ, शपिङ टुरिजमको । सरकार र पर्यटन बोर्ड गुणस्तरीय पर्यटक चाहिरहेको बताउँदै गर्दा नेपालमा भने सस्तो ‘शपिङ ग्रुप’ मा आधारित अल्पकालीन व्यापार वा पर्यटन मात्रै फस्टाउन थालेको छ । पछिल्लो समय केही चिनियाँ समूहले अत्यन्तै न्यून मूल्यमा नेपाल प्याकेज बेचिरहेका छन्, जहाँ हवाई भाडा भन्दा पनि सस्तो मूल्यमा ६ रातको चार तारे होटेलको बास, स्थानीय यातायत र खाना खर्च, गाइड खर्च सबै समावेश गरिएको छ । यसले नेपाली अर्थतन्त्र, व्यवसायी र श्रमिकमाथि गम्भीर असर पार्न थालेको तथ्य बाहिर आएको छ ।

सस्तो प्याकेजको अनौठो गणित : हवाई भाडाभन्दा सस्तो टुर !

चीनका विभिन्न शहरबाट नेपालको लागि ६ रात ७ दिनको प्याकेज अत्यन्तै कम मूल्यमा बिक्री भइरहेको छ । चिनियाँ ट्राभल साइटहरूमा प्रकाशित मूल्यसूची अनुसार कुनमिङबाट नेपालको ६ रात ७ दिनको प्याकेज ६ हजार २८० युआन (करिब १ लाख ४१ हजार रुपैयाँ) मा बिक्री भइरहेको छ भने छेङ्दुबाट पनि ५ हजार ९८० युआनदेखि ६ हजार ८५० युआन (करिब १ लाख ३४ हजारदेखि १ लाख ५३ हजार रुपैयाँ) सम्मका प्याकेज उपलब्ध छन् । यी सामान्य र वास्तविक प्याकेज हुन् । तर अहिले चर्चामा रहेका ‘शपिङ टुर’ प्याकेज भने यो भन्दा धेरै गुणा सस्तोमा बिक्री भइरहेको छ, जुन स्वाभाविक देखिएको छैन ।

नेपालमा अहिले जुन शपिङ टुर सक्रिय छ, त्यसको मूल्य सुन्दा जोकोही अचम्ममा पर्छ । काठमाडौंसम्म आउने र जाने हवाई भाडा, काठमाडौंमा ४ रात तथा चितवन र नगरकोटमा एक–एक रात चारतारे होटलको बाससहित नेपालमा हुने शपिङ बाहेकको सम्पूर्ण खर्च जोडेर मात्र २ हजार ९९९ चिनियाँ युआनमा प्याकेज बिक्री भइरहेको छ । यो मूल्य हवाई टिकटको मूल्यभन्दा पनि सस्तो हो ।

अहिले चीनको छेङ्दुबाट काठमाडौं आउन–जानका लागि हवाई भाडा मात्रै ५२० देखि ५८० अमेरिकी डलरको बीचमा पर्छ । एक अमेरिकी डलरको मूल्य १५३ रुपैयाँ पुगिसकेको छ, जसले गर्दा हवाई भाडा मात्रै कम्तीमा ८० हजार नेपाली रुपैयाँ हुन आउँछ । चारतारे होटलको मूल्य प्रति रात औसतमा ६५ अमेरिकी डलर (करिब १० हजार रुपैयाँ) का दरले ६ रातको ६० हजार रुपैयाँ पुग्छ । यदि एउटा कोठामा सियरिङ बेसिसमा अर्थात् एउटा कोठामा २ जना बस्ने हो भने पनि प्रतिव्यक्ति ३० हजार रुपैयाँ होटेलको बास खर्च मात्रै आउँछ । दैनिक खानपान, यातायात, गाइड, प्रवेश शुल्क आदि जोड्दा प्रतिव्यक्ति कुल लागत कम्तीमा पनि १ हजार ३०० अमेरिकी डलर अर्थात् १ लाख ९९ हजार नेपाली रुपैयाँभन्दा माथि पर्छ ।

तर, यी ‘शपिङ टुर’ समूहले यो सबै खर्च व्यवस्थापन गरेर पनि नेपाल घुम्ने प्याकेज अस्वाभाविक रूपमा सस्तोमा बेचिरहेका छन् । अहिले चीनमा यो प्याकेज ३ हजार ९९९ युआनमा विज्ञापन गरिन्छ, जसमा ग्राहक खोज्ने एजेन्टलाई १ हजार युआन क्यास ब्याक वा कमिसन दिइन्छ । अर्थात्, टुर सञ्चालकले वास्तवमा प्रतिव्यक्ति २ हजार ९९९ युआन (करिब ६७ हजार ७०० नेपाली रुपैयाँ) मा मात्र टुर बेचिरहेका छन् । यो रकम त काठमाडौं आउने–जाने हवाई टिकटको मूल्यभन्दा पनि १२ हजार रुपैयाँले सस्तो हो । अब प्रश्न उठ्छ, हवाई टिकटको मूल्य नै ८० हजार रुपैयाँ पर्दा ६७ हजार रुपैयाँमा ४ तारे होटेल सहितको टुर प्याकेज कसरी सम्भव भइरहेको छ ?

शपिङमा कमिसन : घाटाको पूर्ति गर्ने गोप्य हतियार

वास्तवमा बजार मूल्यभन्दा सस्तोमा टुर प्याकेज बेचेर कसैले घाटा खाइरहेको छैन । बरु चिनियाँ पर्यटकहरूलाई सस्तोमै टुर प्याकेज बेचेर त्यसबाट भएको घाटा शपिङमा हुने कमिसनबाट असुल भइरहेको छ । सस्तो प्याकेजमा नेपाल ल्याइने ती चिनियाँ पर्यटकहरूलाई सिधै आफ्नै नेटवर्कका पसलमा मात्र लगिने र ती पसलबाट ३० देखि ५० प्रतिशतसम्म कमिसन पाउने गरी शपिङ गराइने गरिएको छ । यसबाट चिनियाँ पर्यटकहरु बाध्यकारी रुपमा ठगिएका त छन् नै यसले नेपालप्रतिको धारणामा समेत असर पुर्‍याइरहेको छ ।

सामान्यतया, चिनियाँ पर्यटकले निश्चित पसलबाट गरेको शपिङको ठूलो हिस्सा अर्थात् ४० देखि ६० प्रतिशत रकम चिनियाँ गाइड र ट्राभल एजेन्सीले कमिसनको रूपमै लैजाने गरेका छन् । यसरी पर्यटकले तिरेको रकम नेपालको औपचारिक अर्थतन्त्रमा नआई सिधै अनौपचारिक च्यानलबाट पुनः चीनतर्फ नै जाने गरेको छ । यसबाट कर छली र हुण्डी कारोबार हुने गरेको एक पर्यटन व्यवसायीले लोकपथलाई बताए ।

शपिङको भुक्तानी पनि विशेष रूपमा वी च्याट र नगदबाट मात्र गरिन्छ, जसले गर्दा कारोबारको कुनै आधिकारिक रेकर्ड रहँदैन । बिलविजक जारी नगर्ने प्रवृत्तिले राज्यलाई कर छलीको मारमा पारेको छ । होटलहरूमा पनि सम्भव भएसम्म नगदमै कारोबार गर्ने गरिन्छ, जसले गर्दा यी कारोबारहरू पूर्ण रूपमा अनौपचारिक अर्थतन्त्रको हिस्सा बनिरहेका छन् ।

गैँडाको खाग र हात्तीको दाँतसम्मको ब्यापारको किनबेचको कुराकानी

चिनियाँ गिरोहले ल्याएका पर्यटकले यी चार मध्ये एक पसलबाट गैँडाको खागको खरिदबिक्री भएको कुराकानीको प्रमाणसमेत लोकपथलाई प्राप्त भएको छ ।

कुराकानीमा चिनियाँ पर्यटकले १ लाख ५० हजार चिनियाँ युआनमा गैँडाको खाग किनेको तर कमिसन लगायतका खर्च काटेर १ लाख ३० हजार मात्रै पाएको बताइएको छ । अस्पष्ट भाषामा लेखिएको यो वाक्यांशले गैँडाको खाग वा अन्य केही त्यस्तै वस्तुको खरिद वा बिक्री भएको कुरा स्पष्टरुपमा बुझ्न सकिन्छ ।

उक्त कुराकानीमा के भन्न खोजिएको हो स्पष्ट नभए पनि त्यहाँ गैँडाको खागको खरिदबिक्री भएको, त्यसको मूल्य १ लाख ५० हजार चिनियाँ युआन अर्थात् नेपाली मूल्य ३३ लाख ६९ हजारमा बिक्री भएको तर त्यसवापत कमिसन लगायतका कुरा कटाएर १ लाख ३० हजार युआन अर्थात् २९ लाख १९ हजार रुपैयाँ बराबर मात्रै तिरेको वा प्राप्त भएको कुराकानी हो भन्ने बुझिन्छ ।

त्यसैगरी चीनमै रहेका सम्भावित पर्यटक र ट्राभल एजेन्टबिच भएको कुराकानीमा गैँडाको खाग र हात्तीको दाँतसमेत किन्न पाइने कुराकानी भएको देखिन्छ । नेपालमा के कुरा किन्न पाइन्छ त भनेर सोधिएको प्रश्नमा एजेन्टले यी दुईको नाम लिएका छन् । कुराकानीकै क्रममा एजेन्टले सम्भावित पर्यटक वा ग्राहकलाई पठाएको म्यासेजमा गैँडाको खाग सन् १९९३ पछि चीनमा किन्न र बिक्री वितरण गर्न प्रतिबन्ध लागेको तर नेपाल र दक्षिण एशियामा भने अझै पनि वैधानिकरुमै किन्न पाइने भनिएको छ ।

उक्त गैँडाको खाग र हात्तीको दाँत सक्कली हो कि नक्कली हो खुलेको छैन । तर यी पसलहरुमा नेपालीलाई प्रवेश नै नदिई गाइडसमेत चिनियाँ नै प्रयोग गरी त्यहाँ अवैध कारोबार, कर छली, नक्कली सामानको बिक्री आदि हुने कुराको भने करिबकरिब पुष्टि नै हुन्छ । किनभने चिनियाँ नागरिकलाई मात्रै भित्र जान दिनु र नेपालीलाई प्रवेश नै नदिनु, चिनियाँ नागरिक पनि बाहिरबाट जान नपाई टुरमा आएका मात्रै जान दिनुलाई शंकास्पदरुपमा हेरिएको छ ।

थाइल्याण्डको पाठ : कहाँ चुक्दैछ नेपाल ?

थाइल्याण्डमा सन् २०१४ देखि २०१६ को बीचमा चीनबाट ‘जिरो डलर टुर’ आयोजना हुने गरेको थियो । पछि अनुसन्धान हुँदा चिनियाँहरूको ‘शून्य डलर टुर’ का कारण थाइल्याण्डमा वार्षिक २० अर्ब डलर कर छली भएको पाइएको थियो । थाइल्याण्डले सन् २०१६ मा ‘शून्य डलर टुर’ माथि पूर्ण प्रतिबन्ध लगाउनुको कारणमा कर छली, स्थानीय अर्थतन्त्र कमजोर बन्नु र पर्यटनको गुणस्तर खस्कनु नै रहेको थियो ।

भियतनामले पनि सन् २०१७ मा चिनियाँहरूद्वारा सञ्चालित १५ वटा ‘गोप्य पसल’ बन्द गराएको थियो जहाँ केवल चिनियाँ पर्यटकलाई मात्र प्रवेश हुन्थ्यो । यी पसलमा स्थानीयलाई प्रवेश नै निषेध थियो । थाइल्याण्डको फुकेटमा त ‘शून्य डलर टुर’ सञ्चालकले स्थानीय माफिया, प्रहरी र राजनीतिज्ञको मिलेमतोमा नक्कली मन्दिर र बुद्धको मूर्ति नै बनाएर पर्यटकलाई ठग्ने गरेको तथ्य अनुसन्धानबाट खुलेको थियो । नेपालमा पनि यो मोडल सक्रिय हुँदा पर्यटन क्षेत्रमा दीर्घकालीन असर पर्ने देखिएको छ ।

पर्यटक भिसाको दुरुपयोग र अवैध गतिविधि

अध्यागमन विभागका अनुसार पछिल्लो ६ वर्षमा मात्र २ हजार ८९४ जना विदेशी नागरिकलाई अवैध रूपमा बसेको आरोपमा निष्काशन गरिएको छ । पछिल्लो १ वर्षमा मात्र ५०१ जना विदेशी निष्काशित भएका छन्, जसमध्ये सबैभन्दा बढी १२० जना चिनियाँ नागरिक निष्काशनमा परेका थिए । यसरी निष्काशित हुनेमा अधिकांश पर्यटक भिसामा आई अवैध रूपमा काम गर्ने, लागुऔषध, सुन तस्करी, वन्यजन्तु तस्करी, हुण्डी कारोबारजस्ता गतिविधिमा संलग्न रहेको पाइएको थियो ।

चोभार, पेप्सीकोला, गोदावरी र लगनखेलमा शंकास्पद पसल सञ्चालनमा

अहिले चिनियाँहरुले नै सञ्चालन गरिरहेको स्थानका पसलहरु नै शपिङ टुरका चिनियाँ पर्यटकहरु जाने पसल बनेका छन् । अहिले चोभार गुम्बा, पेप्सीकोला, गोदावरी र लगनखेल क्षेत्रमा रहेका चारवटा पसलमा करिब ३ सय जना चिनियाँ नागरिक पर्यटक भिसामै रहेर काम गरिरहेका एक टुर अपरेटरले लोकपथलाई बताए । यी पसलहरूले वी च्याट र नगदमा मात्रै कारोबार गर्ने, बिलविजक जारी नगर्ने र वन्यजन्तुका अवैध सामग्रीसमेत बिक्री गर्ने गरेको ती टुर अपरेटरले बताए । चिनियाँ व्यापारीहरुले नै सञ्चालन गरिरहेको मध्ये ड्रागन ब्रिज इन्टरनेशनल प्रालि पनि एक पसल हो, जसको कार्यालय कीर्तिपुर भनेर उल्लेख छ ।

नेपाल प्रहरीको तथ्यांक अनुसार लागुऔषध, चोरी, मानव बेचबिखन तथा ओसारपसारजस्ता कसुरमा पक्राउ पर्ने विदेशीमध्ये भिसा लगाएर आउने देशमध्ये चिनियाँ नागरिकको संख्या सबैभन्दा धेरै रहेको छ ।

स्थानीय व्यवसायीमाथि प्रत्यक्ष प्रहार र नेपाली संलग्नताको आशंका

चिनियाँ पर्यटकले स्थानीय व्यवसायीलाई प्राथमिकता नदिँदा नेपाली व्यवसायीको आम्दानी ठप्प प्रायः बनेको छ । पोखराका पर्यटन व्यवसायी हरि बास्ताकोटीले केही समयअघि एक सञ्चारमाध्यममा दिएको अन्तर्वार्तामा चिनियाँ पर्यटक आए पनि उनीहरूले नेपाली व्यवसायीलाई प्राथमिकता नदिने भएको कारण आफूहरूलाई कुनै फाइदा नपुग्ने गरेको बताएका थिए ।

समस्या केवल होटल र रेस्टुरेन्टमा मात्र सीमित छैन । यी ‘शपिङ टुर’ ले नेपाली टुर गाइडको रोजगारी पनि खोसेको छ । चिनियाँ समूहहरू अहिले पर्यटक भिसामा आएर अनधिकृत रूपमा नेपालमै बसेर गाइडको कामसमेत गरिरहेका छन् ।

उनीहरूले स्थानीय ट्राभल कम्पनीलाई बाइपास गरी चीनकै ट्राभल एजेन्सीमार्फत सबै व्यवस्थापन गरिरहेको पाइएको छ ।

यो चिनियाँ समूहलाई नेपालमा ह्याण्डल गर्ने जिम्मा भने पाण्डा इन्टरनेशनल ट्राभलले लिएको छ । नेपालमा व्यवस्थापन गर्ने भनिए पनि नेपालीको प्रयोग गाडी चलाउनमा मात्रै सीमित छ । सबै मुख्य व्यवस्थापन र आर्थिक कारोबार चिनियाँ नागरिककै हातमा छ । यो शपिङ ग्रुपमा केही नेपालीको पनि संलग्नता रहेको आशंका गरिएको छ, जसले विदेशी ‘शपिङ कार्टेल’ लाई नेपालमा सहज रूपमा सञ्चालन हुन मद्दत गरिरहेका छन् ।

यी हुन्, ‘शपिङ टुर’का पर्यटक राखिने होटेलहरु

शपिङ टुरका पर्यटकहरूलाई काठमाडौंमा मुख्यतया रोयल तुलिप, पार्क भिलेज र क्राउन इम्पेरियल जस्ता होटलहरूमा राख्ने गरिन्छ । यी होटलहरूमा पनि सम्भव भएसम्म नगदमै कारोबार गरिन्छ, जसले गर्दा राज्यले पाउनुपर्ने राजस्व गुमिरहेको छ ।

चिनियाँ सामाजिक प्लेटफर्ममा देखाइउने विज्ञापनमा ३ हजार ९९९ युआनको प्याकेजमा एजेन्टलाई १ हजार युआन कमिसन दिने, वी च्याट र नगदमा मात्र कारोबार गर्ने, ड्रागन ब्रिज इन्टरनेशनल जस्ता कम्पनीमार्फत बिलविजक बिना शपिङ गराउने र पाण्डा इन्टरनेशनल ट्राभलजस्ता एजेन्सीमार्फत नेपाली श्रमिकलाई सीमित भूमिकामा राख्ने प्रवृत्तिले यो संगठित रूपमा चलिरहेको संकेत गर्छ । यसमा नेपाली सहयोगीको भूमिकामाथि पनि प्रश्न उठेको छ ।

अध्यागमन विभाग, प्रहरी र राजस्व अनुसन्धान विभागले यस विषयमा चासो देखाए पनि प्रभावकारी निगरानीको अभावमा यो अवैध कारोबार दिनानुदिन फस्टाइरहेको छ । पर्यटन व्यवसायीहरू भने सरकारको ध्यानाकर्षण गराउँदै

यसले नेपालको अन्तर्राष्ट्रिय छविमा पार्ने नकारात्मक असरप्रति चिन्तित छन्, तर सरकारले भने यस सम्बन्धमा खासै चासो दिएको छैन । नेपाली पर्यटन ‘सस्तो शपिङ गन्तव्य’ का रूपमा स्थापित हुने हो कि प्रकृति र संस्कृतिको गुणस्तरीय अनुभव दिने गन्तव्यका रूपमा अघि बढ्ने हो, यो बहसको विषय बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?