काठमाडौं । आजको संसार सूचना र प्रविधिको संसार बनेको छ । मानिसको जीवनशैली, सोचाइ, शिक्षा, मनोरञ्जन र व्यवसाय सबै क्षेत्रमा डिजिटल प्रविधिले गहिरो प्रभाव पारेको छ । यही परिवर्तनको केन्द्रमा छ, ‘मल्टिमिडिया’ ।
टेक्स्ट, अडियो, भिडियो, ग्राफिक्स, एनिमेसन र अन्तरक्रियात्मक सामग्रीको संयोजनले बनेको मल्टिमिडियाले संसारलाई ‘ग्लोबल भिलेज’ मा रूपान्तरण गरिदिएको छ ।
केही सेकेन्डमै विश्वको कुनाकाप्चामा रहेका मानिससँग संवाद गर्न सकिने, एकै मोबाइल फोनभित्र समाचार, चलचित्र, संगीत, अनलाइन कक्षा र सामाजिक सञ्जाल सबै अटाउने अवस्था मल्टिमिडियाकै देन हो । तर यसको ऐतिहासिक विकासदेखि विश्लेषण गर्दा वर्तमान अवस्था, खराब पक्ष र भविष्यका सम्बन्धमा भने छुटाउनै नहुने केही विषयहरु समेत रहेका छन् ।
मल्टिमिडियाको ऐतिहासिक विकासक्रम
अहिले मल्टिमिडिया उच्चतम बिन्दुमा पुगेको मात्रै देख्नेहरुलाई यसको विकासक्रमबारे त्यति ज्ञान नहुन पनि सक्छ । तर मल्टिमिडियाको जरा खोज्दै जाँदा यसको विकास रेडियो र टेलिभिजनको आविष्कारसँगै गाडिएको भेट्न सकिन्छ । सन् १९२० को दशकमा रेडियोले आवाजलाई जनतासम्म पुराएर सूचनामा क्रान्ति ल्यायो भने सन् १९५० देखि ६० को दशकमा टेलिभिजनले दृश्य र ध्वनीको संयोजन गरे अर्को क्रान्ति ल्यायो । तर वास्तविक मल्टिमिडियाको विस्फोट भने कम्प्युटर र इन्टरनेटको आगमनपछि मात्र सम्भव भएको थियो ।
सन् १९९० को दशकमा इन्टरनेटको व्यावसायिक विस्तारसँगै वेबसाइट, डिजिटल भिडियो, अनलाइन समाचार र इमेलको प्रयोग बढ्न थाल्यो । विन्डोज अपरेटिङ सिस्टम र सिडी–रुम प्रविधिले पाठ, तस्वीर, ध्वनी र भिडियोलाई एउटै प्लेटफर्ममा ल्याउन मद्दत पुर्यायो ।
त्यसपछिको दशकमा स्मार्टफोनको विकासले मल्टिमिडियालाई अझ सहज र शक्तिशाली बनाउन सक्यो । एप्पलले आइफोन उत्पादन गर्न थालेपछि अनि एन्ड्रोइड सिस्टमको विकास सुरु भएपछि मल्टिमिडिया उपभोग गर्ने पूरातन शैलीमा पनि व्यापक परिवर्तन ल्याइदियो ।

इन्टरनेटको विकाससँगै सन् १९९८ मा आएको याहुको च्याटरुम, सन् २००४ मा फेसबुक, सन् २००५ मा गुगलको युट्युब, २००६ मा ट्विटर, २०१० मा इन्स्टाग्राम अनि त्यसपछिको टिकटकले त मल्टिमिडियाको प्रयोग र परिभाषामा नै व्यापक परिवर्तन गरिदियो । अहिले त अनलाइन प्लेटफर्मका कारण प्रयोगकर्तालाई केवल दर्शक मात्रै होइन, आफैँ ‘कन्टेन्ट क्रिएटर’ बन्ने अवसरसमेत दिएको छ । त्यसकारण मल्टिमिडिया वा अनलाइन प्लेटफर्म अब विज्ञ वा विशिष्ट व्यक्तिहरुको हातबाट बाहिर निस्किएर आम मानिसको औजार बन्न थालेको छ ।
विकसित देशमा केही छिटो नै मल्टिमिडिया अगाडि बढेको भएपनि नेपालमा भने मल्टिमिडियाको यात्रा केही ढिलो सुरु भयो । सन् १९९० को दशकको अन्त्यतिर मात्र इन्टरनेटको पहुँच सर्वसाधारणसम्म पुग्न थालेको थियो । तर आमूल परिवर्तन भने तब मात्रै भयो जब सन् २०१२ पछि स्मार्टफोनको मूल्य घट्नुका साथै मोबाइल डेटा सस्तो भयो, त्यसपछि मात्रै नेपालमा पनि मल्टिमिडियामा क्रान्ति आउन थालेको हो । पहिले रेडियो र छापा माध्यममा सीमित सञ्चार अहिले अनलाइन पोर्टल, युट्युब च्यानल, टिकटक, पोडकास्ट र डिजिटल पत्रकारितामा विस्तार भएको छ ।
मल्टिमिडियाको वर्तमान अवस्था
आज मल्टिमिडियाले शिक्षा, सञ्चार, मनोरञ्जन र व्यवसायको स्वरूप नै परिवर्तन गरिदिएको छ । शिक्षामा परम्परागत किताबी पढाइलाई भिडियो प्रस्तुति, एनिमेसन, स्मार्ट बोर्ड र अनलाइन कक्षाले विस्थापित गर्दै लगेको छ । कोभिड–१९ महामारीका बेला जुम, माइक्रोसफ्ट टिम्स, गुगल मिट र युट्युबमार्फत हजारौँ विद्यार्थीले पढाइलाई निरन्तरता दिए, जसले मल्टिमिडियाको महत्व झनै बढायो । अहिले विद्यार्थीले घरमै बसेर विश्वका प्रतिष्ठित विश्वविद्यालयका पाठ्यक्रम सुन्न, हेर्न र बुझ्न सक्ने अवस्था छ ।
सञ्चार क्षेत्रमा पनि मल्टिमिडियाले ठूलो क्रान्ति ल्याएको छ । समाचार केवल लेखेर मात्र होइन, भिडियो रिपोर्ट, इन्फोग्राफिक्स, अन्तरक्रियात्मक ग्राफ र लाइभ स्ट्रिमिङमार्फत प्रस्तुत गरिन्छ । दर्शक वा पाठकले तुरुन्त प्रतिक्रिया दिन सक्छन्, जसले पत्रकारितालाई छिटो, प्रभावकारी र सहभागितामूलक बनाएको छ । नेपालका अधिकांश न्युज पोर्टलले पनि आफ्नो पहिलो प्राथमिकतामा मल्टिमिडिया अर्थात् फोटो र भिडियो स्टोरी वा रिपोर्टलाई नै राखेका छन् ।
मल्टिमिडियाको विकासले मनोरञ्जन उद्योगलाई भने निकै कमजोर बनाइदिएको छ । चलचित्र, वेब सिरिज, गेमिङ, डिजिटल संगीत र नेटफ्लिक्स, अमेजन प्राइम, डिज्नी प्लसजस्ता ओटीटी प्लेटफर्महरूको लोकप्रियता तीव्र छ । मानिसहरूले फिल्म हलमा भन्दा मोबाइलमै चलचित्र हेर्न रुचाउन थालेका छन् । नेपाली युट्युबर, टिकटकर र पोडकास्टरहरूले पनि लाखौँ दर्शक तथा श्रोता जुटाइरहेका छन् ।
सामाजिक सञ्जालमार्फत गलत सूचना यसरी फैलिदिन्छ कि जसरी सुख्खा याममा जंगलमा आगो फैलिन्छ । किनभने हाम्रोजस्तो अल्पविकसित र डिजिटल साक्षरता कम भएको देशमा यस्तो हल्ला चाँडै फैलिन्छ, जसले समाजमा भ्रम, तनाव र द्वन्द्वको अवस्था सिर्जना गर्न सक्छ । नेपालमा पनि बेलाबेलामा साम्प्रदायिक सद्भाव बिगार्न, कसैको चरित्रहत्या गर्न वा बजारमा आतंक मच्चाउन फेक न्युज प्रयोग गरिने घटनाले यस्ता जाखिम पटकपटक देखाइसकेको छ ।
व्यवसायमा डिजिटल मार्केटिङ, अनलाइन विज्ञापन, सामाजिक सञ्जाल प्रमोशन र इ–कमर्सको विस्तारले व्यापार गर्ने तरिका पनि यतिबेला फेरिएको छ । एउटा सानो व्यवसाय पनि फेसबुक वा टिकटक भिडियोमार्फत लाखौँ ग्राहकसम्म पुग्न सक्ने भएको छ । नेपालमा धेरै युवाले युट्युब, भिडियो एडिटिङ, ग्राफिक डिजाइन, एनिमेसन, डिजिटल मार्केटिङ र कन्टेन्ट क्रिएसनबाट रोजगारी तथा आम्दानीको अवसर सिर्जना गरिरहेका छन् । फ्रिल्यान्सिङ प्लेटफर्महरूमार्फत नेपाली प्रतिभाले अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो सेवा बेच्न सक्ने वातावरण तयार भएको छ ।
बढ्दो चुनौती र जोखिम
मल्टिमिडियाका अनेकौँ अवसरहरूका बिच गम्भीर चुनौतीहरू पनि देखिन थालेका छन् । यसको सबैभन्दा ठूलो चुनौती भनेकै भ्रामक सूचना र फेक न्युज नै हुन् ।
सामाजिक सञ्जालमार्फत गलत सूचना यसरी फैलिदिन्छ कि जसरी सुख्खा याममा जंगलमा आगो फैलिन्छ । किनभने हाम्रोजस्तो अल्पविकसित र डिजिटल साक्षरता कम भएको देशमा यस्तो हल्ला चाँडै फैलिन्छ, जसले समाजमा भ्रम, तनाव र द्वन्द्वको अवस्था सिर्जना गर्न सक्छ । नेपालमा पनि बेलाबेलामा साम्प्रदायिक सद्भाव बिगार्न, कसैको चरित्रहत्या गर्न वा बजारमा आतंक मच्चाउन फेक न्युज प्रयोग गरिने घटनाले यस्ता जाखिम पटकपटक देखाइसकेको छ ।
यसको दोस्रो ठूलो चिन्ता डिजिटल लत हो । विशेषगरी किशोर–किशोरी र युवापुस्तामा टिकटक, रिल्स, गेमिङ र सामाजिक सञ्जालको अत्यधिक प्रयोगले मानसिक स्वास्थ्यमा गम्भीर असर गरिरहेको छ । पढाइ, पारिवारिक सम्बन्ध र शारीरिक गतिविधिमा ह्रास आउनु, निद्रा नपुग्नु, एक्लोपन र डिप्रेसनजस्ता समस्या बढ्न थालेका छन् । मानिसहरू वास्तविक सामाजिक सम्बन्धभन्दा भर्चुअल अर्थात् अदृश्य दुनियाँमै बढी रमाउन थालेका छन् । यसले आपसी सम्पर्क, सम्बन्ध आदिमा गम्भीर क्षति पुराइरहेको छ ।

तेस्रो र अत्यन्तै डरलाग्दो पक्ष साइबर अपराध हो । यतिबेला साइबर अपराधका घटना दैनिक रूपमा बढिरहेका छन् । ह्याकिङ, डेटा चोरी, अनलाइन ठगी, फिसिङ, सामाजिक सञ्जालको खाता नै अपहरण र गोपनीयता उल्लंघनका घटनाले प्रयोगकर्तालाई अत्यधिक असुरक्षित बनाइरहेको छ । नेपाल प्रहरीमा दर्ता हुने उजुरीको संख्या हरेक वर्ष बढ्दो छ, तर जनचेतनाको कमीले धेरै पीडित न्याय पाउनबाट वञ्चित छन् ।
चौथो चुनौती डिजिटल विभाजन हो । नेपालजस्तो विकासोन्मुख देशमा सहरमा आधुनिक सुविधा भए पनि धेरै ग्रामीण क्षेत्रमा अझै गुणस्तरीय इन्टरनेट र प्रविधि उपलब्ध हुन सकेको छैन । डिजिटल साक्षरता र प्रविधिमाथिको पहुँचमा रहेको खाडलले सूचनाको असमानता र अवसरको विषमतालाई थप गहिरो बनाएको छ । साइबर सुरक्षा र डिजिटल नैतिकतासम्बन्धी शिक्षाको अभाव पनि अर्को कमजोर पक्ष बन्दै गएको छ ।
किन आवश्यक छ सचेतना ?
आगामी दिनमा मल्टिमिडियाको प्रयोग अझ व्यापक र अन्तरक्रियात्मक हुने निश्चित छ । कृत्रिम बुद्धिमत्ता (एआई), भर्चुअल रियालिटी (भीआर), अग्मेन्टेड रियालिटी (एआर) र मेटाभर्सजस्ता प्रविधिले मल्टिमिडियालाई नयाँ स्तरमा पुराइने नै छ । भविष्यमा विद्यार्थीले भर्चुअल कक्षामा बसेर प्रयोगशालामा गरेझैँ प्रयोगात्मक शिक्षा लिन सक्नेछन् । व्यवसायहरू अझ स्मार्ट र पर्सनलाइज्ड बन्न सक्नेछन् भने मनोरञ्जन अनुभव अद्वितीय बन्ने कुरामा कुनै शंका छैन ।
यस अर्थमा नेपालका युवाका लागि मल्टिमिडिया विशाल अवसरको ढोका हो । सही सीप, जस्तै भिडियो उत्पादन, ग्राफिक डिजाइन, एआई साक्षरता, डेटा भिजुअलाइजेसन, डिजिटल मार्केटिङ आदिको विकास गर्न सकियो भने अन्तर्राष्ट्रिय स्तरमा समेत नेपाली प्रतिभाले सफलता हासिल गर्न सक्नेछन् । तर यसका लागि औपचारिक तथा अनौपचारिक शिक्षामा मल्टिमिडिया सीपलाई प्राथमिकता दिनुका साथै डिजिटल साक्षरता र सुरक्षाबारे चेतना फैलाउन आवश्यक छ ।
यसरी हेर्दा मल्टिमिडिया आधुनिक युगको शक्तिशाली माध्यम हो हतियार हो, तर यसको प्रयोग गर्न भने जान्नुपर्दछ र सही प्रयोग गर्नुपर्नेछ । यसले शिक्षा, सञ्चार, मनोरञ्जन र व्यवसायलाई नयाँ दिशा दिएको छ । संसारलाई नजिक ल्याउने, सूचना पहुँच सहज बनाउने र नयाँ रोजगारी सिर्जना गर्ने काम मल्टिमिडियाले गरेको छ । तर प्रविधिको विकाससँगै जिम्मेवारी, सचेतना र नैतिकता पनि बलियो बनाउन सकियो भने मात्रै मल्टिमिडिया भविष्यको समृद्ध र बलियो आधार बन्न सक्छ । नत्र, नियन्त्रणविहीन प्रयोगले व्यक्ति, समाज र राष्ट्रलाई नयाँ खालको संकटतर्फ धकेल्न पनि सक्नेछ र जातीय, क्षेत्रीय र राष्ट्रिय विभाजनको खतरा समेत उत्तिकै रहनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया