काठमाडौं । प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मानव अधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजान सरकारसँग आग्रह गरेका छन् ।
पार्टी स्थापनाको ३६ वर्ष प्रवेश गरेको अवसरमा शुक्रबार काठमाडौैंमा आयोजित कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन् ।
अध्यक्ष लिङ्देनले मानव अधिकार आयोगले दोषी करार गरेकाहरूले तत्काल सफाइका लागि प्रक्रिया अघि बढाउनुपर्नेमा पनि जोड दिए ।
मानव अधिकार आयोगको सो प्रतिवेदनमा नेपालमा मात्रै सीमित नभएर यो संयुक्त राष्ट्र संघ र त्यसमा आबद्ध संघ, संस्थाहरूको पनि रेकर्डमा रहने भएकाले त्यसमा दोषी देखिएकाहरूले सफाइका लागि आवश्यक कदम चाल्न ढिलाइ गर्न नहुने अध्यक्ष लिङ्देनको भनाई छ ।
उनले उक्त प्रतिवेदनले धेरै कुरा उजागर गरेकाले पनि सरकारले तत्काल त्यसको कार्यान्वयनमा अग्रसरता देखाउनुपर्ने आवश्यकता औँल्याए ।
अध्यक्ष लिङ्देनले भने,‘मानव अधिकार आयोगको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ । यो अत्यन्तै महत्वको छ । यसले धेरै कुराहरूको उजागर गरेको छ । र यसलाई कार्यान्वयन गर्ने दिशातर्फ सरकार अग्रसर हुनुपर्दछ । यसमा अभियुक्तमा रूपमा देखिएका अथवा मानव अधिकार आयोगले दोषी ठहर्याएका मानिसहरूले पनि प्रक्रिया पुर्याएर छिटो भन्दा छिटो सफाइ लिनु पर्दछ । यो गम्भीर विषय हो । किनभने यो केबल नेपालमा मात्रै सीमित रहने विषय होइन । यो प्रतिवेदन त युएनसँग सम्बन्धित अन्तर्राष्ट्रिय मानव अधिकारसँग सम्बन्धित, अन्य विभिन्न संयुक्त राष्ट्र संघ सम्बन्धित संघ, संस्थाहरूसँग रेकडेट हुनेछ । र यसैलाई आधार मानेर विगतमा विभिन्न देशहरूले यो मानव अधिकार उलंघनमा दोषी ठहरिएकाहरूलाई विदेश भ्रमणमा जाँदाखेरी रोका गरिएका घटनाहरू समेत छन् । त्यस कारण यो अत्यन्तै गम्भीर विषय भएको हुनाले दोषीहरूले सफाइ लिने र सरकारले यसमा एउटा प्रक्रिया पुरा गर्ने दिशामा जानु पर्दछ । यो प्रतिवेदन कार्यान्वयनमा लैजानु पर्दछ ।’
त्यस अवसरमा अध्यक्ष लिङदेनले आफ्नो पार्टी मुलुकको एक मात्रै वैकल्पिक राजनीतिक शक्ति भएको जिकिर गर्दै निराश नभई सिंगो पार्टी पंक्तिलाई आह्वान पनि गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया