काठमाडौं । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले लोकतन्त्र, गणतन्त्र र सङ्घीयता जस्ता राजनीतिक उपलब्धिहरूको रक्षा गर्दै यसलाई संस्थागत गर्नुपर्नेमा जोड दिएका छन् ।
नेपाल प्रेस युनियनको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।
पूर्वराष्ट्रपति डा. यादवले नयाँ उदाएका राजनीतिक शक्तिहरू, विशेष गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई लक्षित गर्दै जनमतको कदर गर्न र व्यवस्था जोगाउन सक्रिय हुन आग्रह गरे ।
डा. यादवले बिपी कोइरालाको ‘राष्ट्रियता, प्रजातन्त्र र समाजवाद’ को आदर्श अझै पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गर्दै विश्वभर बढ्दो दक्षिणपन्थी पपुलिज्मप्रति चिन्ता व्यक्त गरे ।
उनले लोकतन्त्रमाथि विश्वव्यापी रूपमा खतरा बढिरहेको औँल्याउँदै नेपालले आफ्ना लोकतान्त्रिक मूल्य–मान्यतालाई थप बलियो बनाउनुपर्नेमा जोड दिए । संसदीय व्यवस्थाका आधारभूत खम्बाका रूपमा रहेका कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका र राष्ट्रपतिको संस्थाबिच उचित समन्वय हुनुपर्ने उनको तर्क छ ।
उनले भने, ‘नेपाली जनताले मुरीका मुरी भोट दिएर नयाँ युवाहरूलाई संसदमा पठाएका छन् । यो ७०–८० वर्षको लामो संघर्षबाट प्राप्त उपलब्धि हो । यो व्यवस्थालाई बचाएर देशको आर्थिक, सामाजिक र राजनीतिक अवस्था सुदृढ बनाउनु युवा पुस्ताको दायित्व हो । बिपी कोइरालाको भनाइलाई उद्धृत गर्दै उहाँले भन्नुभयो,‘राजनीति खेलको नियम जस्तै हो, सबैले आफ्नो परिधिभित्र रहेर काम गर्नुपर्छ । यी संस्थाहरूबिच समन्वय अभाव भएमा व्यवस्था नै कमजोर हुन सक्छ ।’
डा. यादवले सरकारको कार्यशैलीप्रति असन्तुष्टि समेत व्यक्त गरे । प्रधानमन्त्रीले लामो समयदेखि संसद र जनतालाई सम्बोधन नगरेको भन्दै उनले संसदीय पद्धतिमा प्रधानमन्त्री देशको नेता भएको बताए । गणतन्त्र दिवस जस्तो गरिमामय अवसरमा प्रधानमन्त्रीले टुँडिखेलको मञ्चबाट देशको आर्थिक, शैक्षिक, स्वास्थ्य र वैदेशिक नीतिका बारेमा स्पष्ट मार्गचित्र प्रस्तुत गर्नुपर्ने र जनता उनको दृष्टिकोण सुन्न आतुर रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया