धान रोपाइँअघि मल संकट टार्न सरकार सक्रिय, भारतबाट ५० हजार मेट्रिक टन मल ल्याइँदै

लोकपथ
91
Shares

काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले किसानलाई मलको अभाव हुन नदिन सरकारले विशेष पहल गरिरहेको बताएकी छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै मन्त्री चौधरीले धान रोपाइँको सिजन नजिकिँदै गर्दा मल आपूर्ति सहज बनाउन सरकार सक्रिय रहेको जानकारी दिइन् ।

उनले भारतसँग जीटुजी ९सरकार–सरकार० माध्यमबाट ५० हजार मेट्रिक टन रासायनिक मल खरिद गर्ने प्रक्रिया सुरु गरिएको बताइन् । यसका लागि मन्त्रिपरिषद्बाट सैद्धान्तिक स्वीकृति प्राप्त भइसकेको उनको भनाइ थियो ।

मन्त्री चौधरीका अनुसार चालु आर्थिक वर्षमा हालसम्म ५ लाख ५४ हजार ७६२ मेट्रिक टन रासायनिक मल आपूर्ति भइसकेको छ भने ४ लाख ६३ हजार १६० मेट्रिक टन मल किसानलाई बिक्री गरिएको छ । हाल गोदाममा तथा नेपाल भित्रिइसकेको तर गोदाम इन्ट्री हुन बाँकी गरी १ लाख ४४ हजार ५८५ मेट्रिक टन मल मौज्दात रहेको उनले जानकारी दिइन् ।

उनले चालु आर्थिक वर्षको असारसम्म करिब ६ लाख मेट्रिक टन मल किसानलाई अनुदानमा उपलब्ध गराइने बताउँदै यो हालसम्मकै उच्च परिमाण हुने दाबी गरिन् ।

मन्त्री चौधरीले मध्यपूर्वमा जारी द्वन्द्वका कारण विश्व बजारमा मल उत्पादन, आपूर्ति तथा मूल्यमा असर परेको उल्लेख गर्दै सम्झौता भइसकेको १ लाख ८७ हजार मेट्रिक टन मल अझै नेपाल आउन नसकेको जानकारी पनि संसद्लाई गराइन् ।

उनले मल आपूर्तिकर्ता कम्पनीहरूलाई समयमै मल उपलब्ध गराउन मन्त्रालयले निरन्तर ताकेता गरिरहेको बताइन् । साथै रासायनिक मलको सन्तुलित प्रयोगसँगै प्राङ्गारिक तथा जैविक मल प्रयोगमा जोड दिन देशभर जानकारीमूलक सूचना प्रवाह गरिएको पनि उनले स्पष्ट पारिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?