जलवायु परिवर्तनले हिमाली क्षेत्रमा चुनौती थपियो : राष्ट्रपति पौडेल

लोकपथ
42
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विश्वको सर्वोच्च शिखर सगरमाथाको प्राकृतिक स्वरूप जोगाउन तथा हिमाली वातावरण संरक्षणमा थप सहकार्य गर्न सरोकारवालासमक्ष आग्रह गरेका छन् ।

मे २९ मा मनाइने अन्तर्राष्ट्रिय सगरमाथा दिवसको पूर्वसन्ध्यामा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा विश्वभरका पर्वतारोहीको उपस्थितिमा बोल्दै राष्ट्रपति पौडेलले सगरमाथा नेपालको भौगोलिक पहिचान मात्र नभई राष्ट्रिय गौरव र विश्वकै अमूल्य प्राकृतिक सम्पदा भएको बताए ।

उनले सगरमाथाको संरक्षण र सन्तुलित उपयोगमार्फत पर्यटन क्षेत्रको दिगो विकास सम्भव हुने उल्लेख गर्दै यसले मुलुकको अर्थतन्त्रमा दीर्घकालीन योगदान पुर्‍याउने धारणा व्यक्त गरे ।

राष्ट्रपति पौडेलले सगरमाथासहित हिमाली क्षेत्रका बहुआयामिक विषयमा अन्तर्राष्ट्रिय सहकार्य, संवाद र सार्थक छलफलका लागि यस्ता सम्मेलन महत्वपूर्ण हुने बताए ।

विश्वव्यापी तापक्रम वृद्धि र जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका चुनौतीप्रति चिन्ता व्यक्त गर्दै उनले पर्वतारोहण क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन पनि गम्भीर समस्या बन्दै गएको उल्लेख गरे ।

‘जलवायु परिवर्तनका असर र पर्वतारोहण क्षेत्रमा बढ्दो फोहोरजस्ता समस्या अहिले ठूलो चुनौती बनेका छन् । यी समस्याको समाधान गरी सगरमाथा क्षेत्रको जैविक विविधता संरक्षण गर्दै पर्वतारोहणलाई सुरक्षित, दिगो र प्रविधिमैत्री बनाउन थप प्रयास र सहकार्य आवश्यक छ,’राष्ट्रपति पौडेलले भने ।

उनले दिगो हिमाली पर्यटन र जिम्मेवार पर्वतारोहण आजको प्रमुख आवश्यकता भएको उल्लेख गर्दै सम्मेलनबाट प्राप्त ज्ञान र अनुभव सगरमाथाको जीवन्तता जोगाउन उपयोगी हुने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?