खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २७ वर्षीया रेश्मिका परियारको हत्या प्रकरणमा संलग्न रहेको अभियोगमा प्रहरीले थप तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चुइचुम्मा–४ बतासेका २८ वर्षीय हेमन परियार, छितापोखरीका २५ वर्षीय दीपक श्रेष्ठ र बतासेकै दीपक राई रहेका छन् । उनीहरूलाई मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
रेश्मिका गत भदौ ३० गते राति मृतावस्थामा फेला परेकी थिइन् । घटनाको थप अनुसन्धानका लागि उच्च अदालत ओखलढुंगाको आदेशअनुसार तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिए ।
यसअघि उक्त हत्या प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले स्थानीय १६ वर्षीय एक किशोरलाई गत असोज १ गते पक्राउ गरेको थियो । उनलाई जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।
पीडित परिवारले थप तीन जनाको नाम उल्लेख गर्दै गत चैत २१ गते उच्च अदालत ओखलढुंगामा किटानी जाहेरी दर्ता गराएका थिए । सोही जाहेरीमाथि सुनुवाइ गर्दै अदालतले चैत २८ गते घटनाको थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयलाई आदेश दिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया