संसदमा एमालेको प्रश्न– ‘के बालेनलाई खोपीको देउता बनाएर घण्टी बजाएर पूजा गर्नुपर्ने हो ?’

लोकपथ
42
Shares

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ संसदसँग तर्सिरहेको भन्दै संसदमा प्रश्न उठाएको छ ।

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले प्रधानमन्त्री संसदबाट टाढा रहन खोजेको आरोप लगाए ।

यति धेरै जनमत पाएको सरकार र त्यसको प्रमुख संसदसँग किन त्रसित छ ? संसदलाई छल्ने प्रयास किन भइरहेको छ ? उनको प्रश्न छ ।

प्रधानमन्त्री संसदप्रति गैरजिम्मेवार बनेको आरोप लगाउँदै उनले सरकार संविधान र संसदीय अभ्यासविपरीत अघि बढिरहेको बताए । उनले संविधानको धारा ७६ (१०) र धारा ८१ को भावना सरकारले उल्लङ्घन गरिरहेको उल्लेख गरे ।

सांसद महरले कार्यपालिका र राष्ट्रपतिबिच दूरी सिर्जना गर्ने प्रयास भइरहेको आरोप पनि लगाउँदै राष्ट्रपति जस्तो संस्थालाई अपमानित र बाइपास गर्ने गतिविधि भइरहेको उनको आरोप छ ।

उनले भने, ‘यति धेरै अपार जनमत पाएको सरकार र त्यसको प्रमुख यो संसदसँग किन त्रसिरहनुभएको छ ? संसदसँग किन टाढा भईरहनुभएको छ र यसलाई छल्न खोजिरहनुभएको छ ? आज आम जनता र संसदमा प्रतिनिधित्व गर्ने सबैको यो आम प्रश्न हो । यो संसदले प्रधानमन्त्री उत्पादन गर्‍यो, आफूलाई उत्पति गर्ने संसदलाई जुन अवमुल्यन गर्ने काम भईरहेको छ, नेपाली जनतालाई, संसदलाई यसले गम्भिर बनाएको छ । संविधानको धारा ७६ को १० र धारा ८१ को सरकारबाट उल्लङघन गर्ने काम भईरहेको छ । धारा ७६ को १० ले प्रधानमन्त्री र मन्त्री संसदप्रति उत्तरदायी हुनुपर्छ भन्ने व्यवस्था गरेको छ तर आजसम्म एकपटक पनि प्रधानमन्त्रीले संसदमा आएर कुनैपनि कुराको जवाफ दिनुभएको छैन । यसप्रति उहाँको रेस्पोन्स छैन, रेस्पेक्ट छैन । प्राक्टिसहरु जुन छ, त्यसको खण्डन गरिएको छ । अहिले कार्यपालिका र राष्ट्रपतिको बीचमा दुरी पैदा गर्ने काम भईरहेको छ । यो पनि संविधानको गम्भिर उल्लङ्घन हो । यसले प्रश्न उठाएको छ, संविधान संसोधनसम्बन्धी बहस कार्यदल बन्दैछ, कस्तो बहस सिर्जना गर्न खोजिएको हो ? राष्ट्रपति संस्थालाई अपहेलना गरेर र त्यसलाई वाईपास गरेर के गर्न खोजिएको हो ? गणतन्त्र दिवसमा पनि प्रधानमन्त्रीले सम्बोधन नगर्ने कुरा सुनिँदैछ, यस्ता गम्भिर प्रश्न उठेका छन्, यसको जवाफ प्रधानमन्त्रीले यो संसदमा दिनुपर्नेछ । प्रधानमन्त्रीले संसद निवयावलीमा भएका धेरै कुराहरुलाई अनदेखा गरिहनुभएको छ, उहाँ किन खोपीको देउता बन्न खोज्दै हुनुहुन्छ ? के प्रधानमन्त्री वालेन्द्र साहलाई खोपीको देउता बनाएर घण्टी बजाएर पुजा गर्न लागेको हो रु लोकतन्त्रको चिर हरण गरेर बालेनतन्त्र स्थापना गर्न खोजेको हो ? संविधानको चिरहरण गरेर बालेनतन्त्र स्थापना गर्न खोजिएको हो ? यी प्रश्नको जवाफ सदनमा आएर प्रधानमन्त्रीले दिनुपर्छ । प्रधानमन्त्री संसदमा नआई संसदको कारबाही अगाडी बढ्न सक्दैन ।’

गणतन्त्र दिवसमा समेत प्रधानमन्त्रीले सम्बोधन नगर्ने चर्चा सार्वजनिक भइरहेको भन्दै उनले सरकारको भूमिकामाथि थप प्रश्न उठेको बताए । यी सबै विषयमा प्रधानमन्त्रीले संसदमा उपस्थित भएर स्पष्ट जवाफ दिनुपर्ने उनको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?