प्रधानमन्त्री बालेन्द्र शाहले गणतन्त्र दिवस मूल समारोहलाई सम्बोधन नगर्ने, राष्ट्रपतिलाई सम्बोधन गर्न पत्राचार

लोकपथ
301
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले गणतन्त्र दिवस मूल समारोहलाई सम्बोधन नगर्ने भएका छन् ।

प्रधानमन्त्री बनेदेखि सार्वजनिक समारोहमा नदेखिएका प्रधानमन्त्री शाहले जेठ १५ गते आयोजना हुने गणतन्त्र दिवसको मूल समारोहमा पनि सम्बोधन नगर्ने भएका हुन् ।

गणतन्त्र दिवसको दिन सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा रहिआएको छ ।

समारोहमा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्षसहित विशिष्ट व्यक्तिहरुको सहभागिता रहने गरेको छ ।

प्रधानमन्त्री शाहले गणतन्त्र दिवसका दिन आयोजित विशेष समारोहमा आफूले सम्बोधन नगर्ने जानकारी राष्ट्रपति कार्यालयलाई समेत दिइसकेका छन् । उनले सो समारोहलाई सम्बोधनका लागि राष्ट्रपतिलाई आग्रहसहित पत्र पठाएको जनाइएको छ ।
‘गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्रीले टुँडिखेलमा सम्बोधन नगरेर राष्ट्रपतिलाई सम्बोधन गर्नका लागि आग्रह गर्दै पत्राचार भएको छ,’ स्रोतको दाबी छ ।

मन्त्रिपरिषदको निर्णयअनुसार गणतन्त्रको प्रतीक राष्ट्रपति नै हुने भएकाले गणतन्त्र दिवस समारोहमा सम्बोधन गरिदिनु हुन अनुरोध गरिन्छ भन्ने व्यहोराको पत्र राष्ट्रपति कार्यालयमा पठाइएको स्रोतले बतायो ।

संविधानको धारा ६६ मा राष्ट्रपतिको काम, कर्तव्य र अधिकारबारे उल्लेख छ । सो धाराको उपधारा २ मा मन्त्रिपरिषदको सिफारिस र सम्मतिमा राष्ट्रपतिले काम गर्ने व्यवस्था समेत छ ।

मन्त्रिपरिषद्ले प्रधानमन्त्री शाहकै नेतृत्वमा ‘गणतन्त्र दिवस मूल समारोह समिति’ बनाएको छ । त्यो समितिको बैठकले कसरी कार्यक्रम गर्ने भन्ने विषयमा जिल्ला जिल्लामा र सम्बन्धित निकायमा पत्राचार गरेको गृह मन्त्रालयका आन्तरिक व्यवस्थापन महाशाखा प्रमुख सहसचिव ऋषिराम तिवारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?