काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलाशययुक्त जलविद्युत् आयोजना सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् ।
कुलेखानी जलविद्युत् आयोजनाको अवलोकनपछि मन्त्री श्रेष्ठले नेपालको दीर्घकालीन ऊर्जा सुरक्षा, औद्योगिक विकास र आर्थिक रूपान्तरणका लागि जलाशययुक्त आयोजनालाई राष्ट्रिय प्राथमिकताका रूपमा अघि बढाउनुपर्ने बताएका हुन् ।
उनले आगामी दिनमा सरकारको मुख्य ध्यान जलाशययुक्त आयोजनाको विकासमा केन्द्रित हुने स्पष्ट पारे । उनका अनुसार यस्ता आयोजना विद्युत् उत्पादनका लागि मात्र नभई पानी व्यवस्थापन, बाढी नियन्त्रण, सिँचाइ विस्तार तथा पर्यटन प्रवर्द्धनका लागि पनि महत्वपूर्ण आधार बन्नेछन् ।
कुलेखानीका तीनवटै जलविद्युत् केन्द्रका कर्मचारीसँगको छलफलमा मन्त्री श्रेष्ठले जलवायु परिवर्तनका कारण बढ्दो प्राकृतिक जोखिम र अनियमित वर्षालाई ध्यानमा राख्दै भविष्यका लागि पानी भण्डारण गर्ने संरचनाको महत्व झन् बढेको बताए ।
‘जलवायु परिवर्तनले हिमनदी पग्लिने र वर्षाको स्वरूप बदलिने जोखिम बढाएको छ । यस्तो अवस्थामा ऊर्जा सुरक्षाका लागि जलाशययुक्त आयोजनाको विकल्प छैन,’ मन्त्री श्रेष्ठले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया