काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीका विचारहरूको समयअनुकूल विस्तार र प्रयोग आजको आवश्यकता भएको बताएकी छन् ।
शनिबार आयोजित ‘मिडियामा मदन भण्डारी पुस्तक विमर्श तथा युवा बहस’ कार्यक्रममा बोल्दै उनले मदन भण्डारीका विचारहरू वर्तमान नेपाली राजनीतिमा अझै पनि अत्यन्त सान्दर्भिक रहेको उल्लेख गरिन् ।
पूर्वराष्ट्रपति भण्डारीले मदन भण्डारीका विचारहरूको गहिरो अध्ययन, व्यापक बहस र समयअनुकूल विकास गर्ने जिम्मेवारी विशेषगरी युवा पुस्ताको काँधमा रहेको बताइन् । उनले छोटो खुला राजनीतिक जीवन भए पनि मदन भण्डारीले नेपाली राजनीतिमा दीर्घकालीन वैचारिक प्रभाव छोड्न सफल भएको उल्लेख गरिन् ।
उनका अनुसार मदन भण्डारीले स्थापित गरेको वैचारिक आधार, लोकतान्त्रिक संस्कृतिप्रतिको प्रतिबद्धता तथा राजनीतिक योगदान नेपाली राजनीतिक इतिहासका अमूल्य सम्पत्ति हुन् ।
भण्डारीले विगतका राजनीतिक घटनाक्रम र वैचारिक धाराको अध्ययनले भविष्यको दिशा पहिचान गर्न सहयोग गर्ने बताउँदै लोकतन्त्र, सुशासन, सामाजिक न्याय र राष्ट्रिय एकता अहिले पुनः राष्ट्रिय बहसका केन्द्रमा रहेको उल्लेख गरिन् ।
उनले लोकतान्त्रिक मूल्य, राजनीतिक नैतिकता, जवाफदेहिता र सुशासन जस्ता विषयमा मदन भण्डारीका विचारहरूबाट प्रेरणा लिनुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा उनले सूचना तथा सञ्चार प्रविधिको तीव्र विकाससँगै युवाहरूलाई आधुनिक प्रविधिको अधिकतम उपयोग गर्न आग्रह गरिन् । साथै, कृत्रिम बुद्धिमत्ता ९एआई० लगायत विज्ञान र प्रविधिका उपलब्धिहरूलाई सकारात्मक र रचनात्मक ढंगले उपयोग गर्दै दक्षता हासिल गर्नु आजको पुस्ताको प्रमुख दायित्व भएको बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया