काठमाडौं । नेपाली कांग्रेसका नेता केदार कार्कीले पार्टीभित्र डर र दबाबको राजनीति बन्द गर्न नेतृत्वलाई आग्रह गरेका छन् ।
कोशी प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका कार्कीले शनिबार फेसबुकमार्फत पार्टी आस्था, विश्वास र संवादका आधारमा चल्नुपर्ने बताएका हुन् ।
उनले जंगी अड्डाको आदेशजस्तो त्रासपूर्ण वातावरण बनाएर पार्टी सञ्चालन गर्न नसकिने टिप्पणी गरेका छन् ।
कार्कीले सैद्धान्तिक असहमतिलाई संवादमार्फत समाधान गर्नुपर्ने बताए । जिम्मेवार निकायका व्यक्तिहरूले दम्भ र लापरवाही देखाउँदा पार्टीको पद्धति कमजोर बन्दै गएको उनको भनाइ छ ।
उनले पदका लागि राजनीति गर्ने प्रवृत्ति समस्या भएको उल्लेख गर्दै लोकतन्त्रका लागि संघर्ष गरेका नेता तथा कार्यकर्तालाई धम्क्याउने काम बन्द गर्न आग्रह गरेका छन् ।
पार्टी नेतृत्वले एकता, सहमति र सम्मानको वातावरण बनाउनुपर्ने उनको भनाइ छ । वडा, पालिका, क्षेत्र र जिल्लाका नेता तथा कार्यकर्ताले प्रश्न उठाएको वा असहमति जनाएको भरमा कारबाही गर्ने शैली लोकतान्त्रिक नभएको उनले बताएका छन् ।
कार्कीले असहमतिलाई संवादमा ल्याउनुपर्ने भन्दै ‘साइलेन्ट निलम्बन’ जस्ता गतिविधि लोकतान्त्रिक मूल्यविपरीत भएको टिप्पणी गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया