अध्यक्ष ओलीलाई अष्टलक्ष्मी शाक्यको सुझाव– ‘अब युवा पुस्तालाई नेतृत्व दिनुहोस्’

लोकपथ
56
Shares

काठमाडौं । नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले केपी शर्मा ओलीलाई अध्यक्ष पदबाट राजीनामा दिन सुझाव दिएकी छन् ।

समाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले ओलीको नेतृत्व शैलीप्रति असन्तुष्टि व्यक्त गरेकी हुन् ।

उनले दम्भ, घमण्ड र गुटगत सोचका कारण पार्टी कमजोर बनेको दाबी गर्दै यस्ता प्रवृत्तिले एमालेलाई असर पुर्‍याएको टिप्पणी गरेकी छन् ।

शाक्यले ओलीले लगातार तीन कार्यकालसम्म पार्टी नेतृत्व गरिसकेको उल्लेख गर्दै अब नेतृत्व युवा पुस्तामा हस्तान्तरण गर्नुपर्ने आवश्यकता औँल्याइन् । ‘सधैँ अध्यक्ष भइरहने सोच उचित होइन,‘भन्दै उनले यही बैठकबाट सम्मानपूर्वक पद छाड्न ओलीलाई सुझाव दिएकी छन् ।

पछिल्लो समय पार्टीभित्र पुस्तान्तरण, संगठन सुदृढीकरण र नेतृत्व शैलीबारे विभिन्न नेताहरूले फरक–फरक धारणा सार्वजनिक गर्दै आएका छन् ।

यस्तो छ अष्टलक्ष्मीको सुझाव

कमरेड अध्यक्ष केपी शर्मा ओली,

तपाईं नेकपा एमालेको अध्यक्ष पदमा रहेर तीन कार्यकाल नेतृत्व गरिसक्नुभएको छ। यतिबेला कमरेडले कार्यकर्ताको भावना बुझ्न जरुरी छ। निर्वाचनपश्चात् गौरवपूर्ण इतिहास बोकेको नेकपा एमाले आज यो कमजोर स्थितिमा पुगेको छ। पुनः नेकपा एमालेलाई आन्दोलनको नेतृत्वमा पुर्‍याउन सकिन्छ। अहिले पनि तपाईंले देखाउनुभएको दम्भ, घमण्ड र गुटगत सोच म उस्तै देख्छु।

बलिदानको रगतले जन्मेको पार्टी हो एमाले। लाखौँ कार्यकर्ताहरूको त्याग र सङ्घर्षबाट अगाडि बढेको पार्टी हो एमाले। यो पार्टी तपाईंको मात्र पेवा होइन। एमाले तपाईंको गुटको कम्पनी पनि होइन। त्यसैले कमरेड, सास रहुन्जेल एमाले पार्टीको अध्यक्ष भइराख्ने तपाईंको सोच गलत छ।

अहिले एक्काइसौँ शताब्दीमा छौँ हामी। आजको समयको माग विचार, सामूहिकता, सङ्घर्ष र इमानबाट पार्टी नेतृत्व गर्ने बेला हो। अब युवा पुस्तालाई विश्वास गरेर नेतृत्व पुस्तान्तरण र हस्तान्तरण गर्नुपर्छ। कमरेडले यही बैठकबाट ससम्मान अध्यक्ष पदबाट बिदा लिनु राम्रो हुन्छ।

नेकपा एमाले पुनर्जीवित गर्न, अन्धकारमा डुब्न लागेको एमाले फेरि उठाउन सकिन्छ। व्यक्तिको गुणगान र चाकरीमा खर्च गर्ने यो समय होइन। देश र जनताको हितमा निस्वार्थ भावना राखेर काम गर्ने बेला हो। आजको समयको माग पनि यही हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?